गण्डक क्षेत्रमा डुबान रोक्न खोलाहरुको सफाई गरिदै
गोपी ज्ञवाली –

नवलपरासी । भारतीय गण्डक क्षेत्रमा वर्षा याममा हुने गरेको हुने डुबान रोक्नका लागि अहिले ती क्षेत्रका खोलाहरुको सफाई गरिदै छ ।
नवलपरासीको त्रिवेणी क्षेत्रमा भारतीय गण्डक नहर बनाउने क्रममा नेपाली भुभागमा निर्माण गरिएको विभिन्न संरचनाहरुका कारण नवलपरासीको यो क्षेत्र हरेक वर्ष वर्षा याममा डुबानमा पर्ने गरेको अवश्थामा डुबानको प्रभाव कम गर्नका लागि अहिले भारत सरकारको अगुवाईमा विभिन्न ठाडा खोलाहरुको सफाई गरिन थालेको छ ।
भारतीय गण्डक नहरको निर्माण एवं गण्डकका अन्य सहायक संरचनाका कारण नवलपरासीको ठुलो क्षेत्र डुबानमा पर्दै आएको छ । गण्डक नहर निर्माण गरि भारतले उत्तर प्रदेश र विहारका विभिन्न स्थानहरुमा सिचाईका लागि भारतले पानी लगेको छ । २०१६ सालमा नेपाल र भारतबीच गण्डक सम्झौता भए पछि नेपालको भुमिमाभारतीयपश्चिम गण्डक नहर बनेको थियो ।
गण्डक सम्झौतामा भएको सहमति अनुसार भारतीय पश्चिम गण्डक नहर निर्माण गरे पछि नेपाललाई पर्ने सबै समस्याहरुको समाधान भारत सरकारले गर्नु पर्ने समझौता अनुसार गण्डक क्षेत्रका खोलाहरुको सफाई अहिले भारत सरकारले गरेको गण्डक नहरका भुआर्जन अधिकृत तारा सिंहले बताए ।
नेपालको चुरे पहाडबाट निस्कने खोलाहरुको प्राक्रितिक बहाव अवरुद्ध भएका कारण नवलपरासीका दर्जनौ गाउँहरुका हजारौं हेक्टर खेती योग्य जमिन डुबानमा पर्दै आएको छ । डुबानमा पर्दै आएको अवस्थामा पछिल्लो समयमा यस क्षेत्रको मुख्य रुपमा रहेको खजुराह खोलाको सरसफाई भारत सरकारले पहिलो पटक गर्ने लागेको हो ।
भारतीय भुमि सिंचाईका लागि निर्माण गरिएको भारतीय पश्चिम गण्डक नहरले दाउन्नेको पहाडमा मुहान रहेको खजुराहा खोला लगायतका करिब आधा दर्जन खहरे खोल्साहरुको प्राकृतिक बहाव अवरुद्ध गरेका कारण हरेक वर्ष नवलपरासीको भुजहवा, ठुलो खैरेटहवा, गुठी प्रसौनी, पकलीहवा,त्रिवेणी लगायतका आधा दर्जन गाउँहरु डुबानमा पर्ने गरेका छन् ।
दाउन्ने डाँडाको मुहानबाट निस्केर खजुराहा खोला नदि दाउन्नेदेवी, प्रतापपुर, कुडिया, पकलिहवा, सोमनी लगायतका करिब नौ भन्दा धेरै गाउँहरुलाई पार गर्दै भारततर्फ बग्ने गरेको छ ।
यी खोलाले भारतीय पश्चिम गण्डक नहरका कारण नेपालका करिब आधा दर्जन गाँउका मानव बस्ती एवं कृषि भुमि डुबान, कटान र पटान गर्दै आएका कारण यस क्षेत्रका स्थानीयहरु पीडित रहेका त्रिवेणीका कृष्ण शर्माले बताए ।
यस क्षेत्रको नदीजन्य समस्यको समाधानका लागि खजुराहा लगायतका चुरेबाट निस्केर दक्षिण तर्फ बग्ने खोलाहरुको सरसफाई आवश्यक भएको अवश्थामा नेपाली स्थानीयहरुको लामो समयसम्म गरेको मांग अनुसार भारतले पछिल्लो समयमा खोलामा जमेको बलुवा एवं अन्य फोहरहरुको सफाई गर्न लागेको नेपाल गण्डक पश्चिम नहर सिंचाई प्रणालीका अध्यक्ष हैदर अलि मुमीनले बताए ।
पुर्व निर्धारित योजना अनुसार गण्डकको नेपाल हितकारी योजना अन्तर्गत खजुराहा खोलाको सरसफाई कार्य गरिएको भारतीय पक्षले जनाएको छ ।
गण्डक नहर बनेको ५० वर्ष भन्दा बडि समय भएको अवश्थामा यस प्रकारको खोलालाई ब्यवस्थित गर्नका लागि सफाई गरिएको थिएन ।