लकडाउनमा बारी खन्दै नायक आर्यन
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कारण विश्व त्रसित छ । विश्वका अधिकांश मुलुकले कोरोनाको जोखिम फैलिन नदिन लकडाउन लागू गरेका छन् ।
लकडाउनका कारण कलाकारहरु पनि घरमै थुनिएका छन् । सधै सुटिङ स्थलमा क्यामेरा अगाडि व्यस्त हुने कलाकारहरु घरभित्रै रहे पनि कोरोना रोकथामका लागि आफूले गर्न सक्ने सहयोग गरिरहेका छन् ।
केहीले सरकारको राहत कोषमा रकम जम्मा गरेका छन् भने केहीले कोरोना रोकथामका लाग सचेतना फैलाइरहेका छन् । यो बेला सामाजिक सञ्जाल सबैभन्दा बढी प्रभावकारी देखिएको छ । अधिकांश कलाकारहरुले सामाजिक सञ्जालमा कोरोना रोकथामका लागि विभिन्न सकारात्मक सन्दे प्रवाह गर्दै आएका छन् ।
केहीले लकडाउनको समयलाई सदुपयोग गर्दै किताव पढ्ने तथा ज्ञान अभिवृद्धि गर्ने गरेका छन् । यो बेला समय बिताउन गाह्रो हुने भएका कारण केही कलाकारहरुले आफ्ना पुराना चलचित्र हेर्दै समय काट्ने गरेका छन् ।
नायक आर्यन सिग्देलले सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै लेखेका छन्- ‘आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घर बाहिर ननिस्कनुहोला ।’
उनले क्याप्सनमा आफ्नो आमासँग बारीमा काम गर्दा निकै रमाइलो भइरहेको उल्लेख गरेका छन् । आर्यनले कोरोनाभाइरसको संक्रमणबाट जोगिन सबैलाई घर बाहिर ननिस्किन तथा भीडभाड नगर्न पनि आग्रह गरेका छन् ।
