रामग्राम राहत प्रकरणः वितरण गरिएको चामल गुणस्तरहीन प्रमाणित

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले यस अघि राहातमा बाँडेको चामल न्यून गुणस्तरीय भएको प्रमाणित भएको छ ।
वितरण गरिएको राहत चामल परीक्षण गर्दा गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले न्यून गुणस्तरीय भएको प्रमाणित गरेको हो ।
कार्यालयबाट खटिएका खाद्य निरिक्षक श्रवण कुमार ढुंगानाले चामलको नमुना संकलन गरी ल्यावमा चेकजाँचका लागि लिएर गएका थिए । चामलको ल्याव टेष्ट गर्दा त्यसको नतिजा नेपाल सरकारको मापदण्ड भन्दा बाहिरको आएकोले न्यून गुणस्त भएको पुष्टी भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्रोतले जानकारी दिएको छ ।
चामलको तौलको बारेमा भने गुणस्तर तथा नापतौल कार्यालय रुपन्देहीको टोलीले चेकजाँच गर्दा कम तौल भएको पुष्टी भैसकेको गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरिक्षक नुरुल एन भाटले बताए ।
एकातर्फ तौलमा ठगी र अर्को तर्फ गुणस्तरमा न्यून भएपछि छुट्टाटुट्टै मुद्धा चल्ने र सोही अनुसार कारबाही हुने जनाइएको छ ।
नगरपालिकाले वितरण गरेको चामल गुणस्तरको नभएको भन्दै नगरपालिकाको वडा नम्बर ११ मा वितरण भएको राहात स्थानीयले चैत्र २८ गते नगरपालिकाको गेटमै फालिदिएका थिए भने ६ नम्बरमा वडामा अध्यक्षको घरमा लगेर फर्काईदिएका थिए । वडा नम्बर ३ बाट पनि वितरण भएको राहात फिर्ता भएको थियो ।
नवलपरासीमा राहतमै घोटलाः सर्वत्र आलोचना
केही वडामा राहात वितरणको क्रममा विरोध आएपछि रोकिएको थियो भने केही वडामा वितरण गर्न बाँकी रहेको थियो । नगरपालिकाले वितरण गरेको चामलको गुणस्तरको विषयलाई लिएर चर्को विरोध आएपछि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले राहात वितरण कार्यलाई स्थगित गर्दै कमि कमजोरी भएकोमा नगरपालिकाले नैतिक जिम्मेवारी लिदै वितरण गरिएको राहत फिर्ता गर्न आग्रह गरेका थिए ।
वितरण गरिएको राहतमा कुहिएको चालम, स्वयाविन समेत भेटिएपछि चामलको तौल र गुणस्तर परीक्षणका लागि नगरपालिकाले गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीलाई आग्रह गरेको थियो । नगरपालिकाको आग्रह पछि उक्त चामलको तौल र गुणस्तर परीषण गरिएको थियो ।
यता नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले भने पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गरेर नियोजित रुपमा नगरपालिकालाई बदनाम गरिएको बताएका छन् ।
राहात सामाग्रीको गुणस्तरकै विषयमा नगर प्रमुख र उपप्रमुख विचमा पनि टक्राब देखिएको छ । राहातमा वितरण भएको चामल गुणस्तरीय नभएको भन्दै व्यापक आलोचना भएपछि नगर प्रमुख गुप्ता र उपप्रमुख रम्भा कुँवरको छुट्टाछुट्टै विज्ञप्ती आएको थियो । उपप्रमुख कुँवरले आफूलाई पहिले नै गुणस्तरहित खाद्य सामग्री वितरण गर्न थालेको थाहा भएको दावी गर्दै आएकी छिन् ।
वितरण गरिएको राहतमा कहाँ कसले घोटला गर्यो रहस्य खुलाइएको छैन । यस विषयमा प्रमुख उपप्रमुख सबै मौन रहेका छन् ।