चलचित्र विकास बोर्ड अध्यक्षको आवेदन माग


काठमाडौं । विगत पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बोर्ड अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।



पाँच महिनाअघि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियो । त्यसपछिबाट हालसम्म पनि बोर्डको अध्यक्ष पद खाली रहेको छ । चलचित्र विकास बोर्ड अध्यक्षविहीन हुँदा बोर्ड बैठक बस्न सकेको छैन । जसका कारण चलचित्र क्षेत्रका दैनिक कामबाहेक सबै परियोजनाहरु ठप्प अवस्थामा छन् । तर, चलचित्रकर्मीहरूले पनि मुलुक लडडाउनमा रहेको बेला आवेदन माग्नु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय चलचित्र विकास बोर्डका अध्यक्ष नियुक्ति प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिँदै आएको छ । जसका लागि मन्त्रालयले अध्यक्षको दर्खास्त आह्वान गरेको हो । अध्यक्ष बन्न चाहनेले १५ दिनभित्र निर्देशन प्रस्तुत गर्न पनि अनुरोध गरिएको छ ।




मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेकाहरूले मात्र आवदेश दिन पनि उल्लेख गरिएको छ । बोर्डको वर्तमान अवस्था, बोर्डको सबल तथा कमजोर पक्षहरू, आफू अध्यक्ष भएपछि त्यहाँ गएर गर्नुपर्ने काम र भावी रणनीतिसमेत आवेदनसँगै बुँदागत रूपमा पेस गर्न पनि मन्त्रालयले जनाएको छ । यसरी आवेदन पेस गरेपछि सम्बन्धित व्यक्तिको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा मूल्यांकन गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अहिले धेरैको दौडधूप जारी छ । यसअघि दयाराम दाहाल अध्यक्ष बन्ने चर्चा थियो । अहिले दाहाल बोर्डमा सदस्यका रूपमा रहेका छन् । यस्तै, चलचित्र विकास बोर्डमा एक सदस्य पद पनि खाली रहेको छ । बोर्ड अध्यक्ष नियुक्त भएलगत्तै बोर्ड सदस्य पनि नियुक्त गरेर कार्य अघि बढाउने मन्त्रालयको योजना रहेको छ ।



सम्बन्धित
Loading...