मलाई म बन्नु छ..
- बालकृष्ण ढकाल –
मलाई म बन्नु छ
म सोच्दै छु ,
म कसरी बन्ने ,
मलाई म बन्नु छ
आफ्नु परिचय बनाउनु छ
मसँग चुनौतीहरु छ्न
त्यो मेरो जिन्दगी हो ,
म जे गर्दै छु
मेरा लागि गर्दै छु
यो भ्रम हो
म जे गर्न सक्छु
म बन्नका लागी गर्न सक्छु
तर म मेरा लागि हैन
अरुका लागी बन्दै छु
म बन्नका लागि
क्षेमता , बौद्धिकता र दुरदर्शिता
अरुभन्दा फरक बनाउनु पर्छ
अनिमात्र मलाई म बनाउन सक्छु
मेरा भोगाइका पाटोहरु
र तिम्रा रोजाइका बाटोहरु
अलग छ्न
सुखहरु मेरो हत्केलामा अटदैनन
दुख पीडा र संघर्ष मेरा रोजाइहरु हुन
किनकि मलाई म बन्नु छ
बाले संघर्ष गर्दा खेतमा हलो भाँच्नुभयो
म भ्रष्टाचारीको ढाड भाँच्न संघर्ष गर्दै छु
बाले परिवार चलाउन हलो भाँच्नु भो
म देश बचाउन भ्रष्टाचारीको ढाड भाँच्दै छु ,
किनकि मलाई म बन्नुछ
म मजदुर बने
म मजबुर बने
जे पनि बने
म बन्नका लागी बने
आमाले कहिल्यै सुखका सपनाहरू देख्नुभएन
यहि भोगाइ भित्रबाट
मलाई म बन्नु छ
सपनामा नायक भएको कल्पन हैन
मलाई त बिपनामै म बन्नु छ
सामन्तीहरु खुलेआम हिँडिरहँदा
म भुमिगत भएको थिए
दलाल र भ्रष्टाचारीहरुले गगनचुम्मी महल बनाईराख्दा
म चुहिने छानोबाटै संघर्ष गरिरहेको छु
किनकि मलाई म बन्नु
छ क्रान्तिकारी बन्नु छ ।
– सर्लाही
