त्रिदेशीय नाकाका रूपमा रहेको सामरिकमा सशस्त्र प्रहरीको गुल्म नै राख्ने
दार्चुलाको व्यास गाउँपालिका-१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ ।
बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया सुरू गरिएको छ । बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जिनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ । लकडाउनलगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनाको टोली रहने छ ।
उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ । सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
गुल्मका लागि अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त भइसकेको छ । गृह मन्त्रालयबाट बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि रु ११ करोड रकम विनियोजन गरिसकिएको छ । लकडाउनलगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा इन्द्रजीत राईले राससलाई जानकारी दिए ।
सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले गुल्मका लागि प्राप्त जग्गाको बिहीबार स्थलगतरूपमा पुगेर आवश्यक नापजाँच गरेको छ । सुरक्षाका दृष्टिले यहाँको सामरिक महत्व रहेकाले सरकारले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । अन्य क्षेत्रमा सुरक्षाफौज तैनाथ गर्ने योजना रहे पनि पहिलो प्राथमिकतामा यहाँको गुल्म छ । भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रैमहिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ ।
सन् १९६२ मा भारत–चीनसँगको द्वन्द्वका बेला यहाँको कालापानीलगायत क्षेत्रमा भारतले सेना प्रवेश गराएको थियो । त्यो बेला राखिएको सेना अझै कालापानीमा छ । दार्चुलाका प्रजिअ पौडेलका अनुसार पहिले त्यस आसपास क्षेत्रमा नेपालको पाँच इलाका थियो । तिङकर र छाङ्रु नेपालमा छ । नेपालको तिकु र गुञ्जी भारतीय नियन्त्रणमा छ । भारतले काली नाघेर कालापानी तल भएर बग्ने अर्को नदीलाई कालीको नाम दिई सीमा नदी बनाएर विवाद निकाल्दै आएको छ ।
त्यसैले पनि सरकारले यहाँ गुल्मको सोच राखेर त्यस आसपासका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने योजना अघि सारेको हो । सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले गुल्म बसेपछि सो क्षेत्रको सुरक्षा मजबुत हुने बताए ।
