प्रचारको शैलीः दैनिक दुई हजारसम्म कमाई


  • रामकुमार श्रेष्ठ –



कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डाका टंकराज गिरी हुन् यि । मानिसहरु अहिले बजारमा साइकल, ठेला, अटो आदिमा गाउँगाउँमा फलफूल तरकारी बेच्न हिड्छन् । टंकराज गिरी पनि यसरी नै हिड्छन् तर उनको प्रचार शैली फरक छ ।
आफ्नै साइकलमा दायाँबायाँ दुई वटा ढाकरमा आफ्नै बारीमा फलाएको केरा हाल्छन् र बेच्न हिड्छन् । साइकलको अगाडि नेपालका दुई वटा ठूलाठूला झण्डा हालेर टाउकोमा दुई वटा सिङ्ग भएको हेलमेट लगाएर हिड्छन् । झण्ट उनलाई देख्नासाथ जो कोही पनि आकर्षित भईहाल्छन् ।


गिरीले आफ्नै बारीमा फलाएको र नेपालकै केरा भएको भन्दै राष्ट्रवादी केराको नाम दिएर केरा बेच्ने गरेका छन् । यसरी हिड्दा कोहीले त पागल समेत भन्ने गरेको उनले सुनाए ।
आफ्नो डेढ विगाहामा लागएको केरा र ३/४ घर छिमेकीको केरा उनले यसरी नै बेचेर सक्ने गरेका छन् । उनी भन्छन् – केरा बेच्नका लागि कसैको हारगुहार माग्न परेको छैन । दुई/चार घर छिमेकीको समेत बेचेको छु ।
उनले यसरी केरा बेच्न हिड्दा दैनिक २ हजार देखि ४ हजार रुपैयाँसम्मको केरा विक्री हुने र दैनिक १ देखि २ हजार रुपैयाँसम्म मुनाफा हुने गरेको सुनाए । उनले आफ्नो घर खर्च समेत कटाएर बार्षिक २ लाखसम्म बचत गर्ने गरेको सुनाए ।
करिब ८ बर्ष भारतमा बसेर रोजगारका लागि पसिना गुमाएका उनले अहिले ३ बर्षदेखि घर नै फर्किएर यसरी केरा बेच्दै हिडेका छन् । उनले भने – कसैले पागल भन्छन् कसैले के भन्छन्, यो मेरो छुट्टै पहिचान हो । यसरी हिडेको कमाईबाट म सन्तुष्ट छु ।




सम्बन्धित
Loading...