पाल्पा पहिरो : एकको शव फेला, अन्य पाँचको खोजी कार्य जारी

175












पाल्पा, ८ असोज । पाल्पामा गएराति पहिरोले घर पुरिदा बेपत्ता भएका ६ जनामध्ये एकको शव फेला परेको छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोटस्थित सुरुङडाँडाकी २७ वर्षीया मोतिसरा गाहाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।


जिल्ला प्रहरी कार्यालय पाल्पाबाट विहानैै उद्दारका लागि एसपी सन्तोष कुमार भट्टराईको टोली घटनास्थल पुगेको थियो । एसपी भट्टराईका अनुसार सोही वडाको बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ ।

पहिरोले घर पुरिदा ६० वर्षीय हुम बहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया खुमीसरा आले र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका एसपी भट्टराईले जानकारी दिए ।

मंगलबारदेखिको अविरल वर्षासँगै आएको पहिरोले आज विहान ३ वटा घर पुरिएका छन्, जहाँ ६ जना वेपत्ता भएका छन् । अहिले एकको शव फेला पारिएको र अन्य ५ जनाको सुरक्षाकर्मी र स्थानीयद्वारा खोजी कार्य भइरहेको छ ।

उक्त घटनास्थल सदरमुकाम भन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न र उद्धार कार्यमा केही ढिलाई भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।



You might also like
Loading...