मुसहर बस्तीमा राहत वितरण




युके लण्डन स्थित बुद्धिष्ट कम्युनिटी आमा समुहको आर्थिक सहयोगमा शनिबार पुर्बी नवलपरासीको मुसहर नयाँ बस्तीका ६५ घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ । कावासोती १३ का मुसहर र केही अन्य समुदायका बिपन्न परिवारलाई बुद्धिष्ट कम्युनिटी आमा समुहकी अध्यक्ष अन्तिम गुरुङको नेतृत्वमा सँकलन गरिएको करिव १ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री बितरण गरिएको हो । राहत सामग्री बुद्धदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक तथा समाजसेबी रुद्र बहादुर गुरुङको सँयोजकत्वमा भएको एक कार्यक्रमका बीच बितरण गरिएको हो । कोरोना महामारीका कारण ज्याला मजदुरी गर्न नपाएकोले मुसहर बस्तीमा भोकमरीको अवस्था भएको थियो । यस्तो परिस्थितिमा राहत सामग्री पाउँदा आफुहरु अत्यन्त खुशी भएको समाजसेवी एवम् कावासोती १३ का वडा सदस्य एवम् नगरपालिका सदस्य कलिया मुसहर बताउछिन् ।

राहत बितरण कार्यक्रममा बोल्नुहुँदै समाजसेबी रुद्र बहादुर गुरुङले दुख समस्या परेको बेलामा सहयोग गर्नु मानव धर्म भएको बताउनुभयो । यतिखेर बिश्व नै कोरोना महामारीले आक्रान्त भएको अवस्थामा अलिकति भएकोले कति पनि नभएकालाइ सहयोग गर्नु सबैको कर्तब्य भएको उहाँले बताउनुभयो । फरक प्रसँगमा बोल्नुहुँदै वहाँले राजनीतिक आस्था जस्तो भएपनि दुख परेको अवस्थामा सबै मिलेर मानबीय सहयोग गर्नुपर्ने बताउनुभयो ।




उहाँले बुद्धिष्ट कम्युनिटी आमा समुहलाई आभार समेत प्रकट गर्नुभयो । आगामी दिनमा पनि यथासक्य सहयोग गरिने र यस्तो कार्यमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो ।

यस्तै बितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै कावासोती १३ का वडा अध्यक्ष बिनोद राना मगरले राहत सँकलन गरी बितरण गरेकोमा सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो । अति बिपन्न मुसहर समुदाय बन्दाबन्दीका कारण ज्याला मजदुरी गर्न समेत नपाउँदा भोकमरीकै अवस्थामा पुगेको उहाँले बताउनुभयो । वडाको तर्फबाट केही पहल भएपनि त्यो पर्याप्त नभएको अवस्थामा राहत सामग्री पाउनु मुसहर समुदाय र सिँगो वडाको लागि पनि खुशीको कुरा भएको  बताउनुभयो । कार्यक्रममा प्रति घर २५ केजीको एक बोरा चामल , तीन किलो दाल , दुइ लिटर तेल र नुन बितरण गरिएको थियो ।

राहतका लागि रकम सँकलनमा पोखरा निवासी कास्की आवाज अनलाइनका सम्पादक हेम गुरुङले समेत पहल गरेका थिए । राहत सामग्रीका लागि बुद्धिष्ट कम्युनिटी आमा समुहमा आबद्ध लण्डन निवासी ४२ जनाले रकम सहयोग गर्नुभएको थियो । राहतका लागि समाजसेवी रुद्र बहादुर गुरुङले बिशेष भुमिका निर्वाह गर्नुभएको थियो । उहाँकै बिशेष अनुरोधमा अन्तिम गुरुङको समुहले आर्थिक सँकलन गरेको थियो ।



सम्बन्धित
Loading...