पर्वतकी महिलाले जन्माइन शरीर जोडिएका शिशु
पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छिन्।
पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्।
प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उनलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो ।
अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले मंगलबार बिहान शिशु जन्मिएको बताए । शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएकी गौतमको भनाइ छ ।
“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, “चिकित्सकलाई उल्लेख गर्दै गौतमले भने, “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।” शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए।