पूर्वी नवलपरासीका क्रसर उद्योगहरु मापदण्द विपरित


रामकुमार श्रेष्ठ –



नवलपरासी । पूर्वी नवलपरासीमा रहेका सबै क्रसर उद्योग मापदण्द विपरित सञ्चालनमा रहेको पाइएको छ ।  पूर्वी नवलपरासी अर्थात नवलपुरमा रहेका १२ वटा क्रसर उद्योगहरु सबै मापदण्ड विपरित रहेको पाइएको छ ।




नवलपुरमा दुम्किबासमा बाग्लुङ कालिका क्रसर उद्योग, महाविर एग्रिगेट इण्डष्ट्रीज प्रालि, त्रिवेणी क्रसर उद्योग रहेका छन् ।
त्यसैगरी अरुखोलामा महाराजा क्रसर उद्योग, चोरमारामा न्यू मनकामना मिलर प्रोडक्ट प्रालि, मध्यविन्दु क्रसर उद्योग रहेका छन् ।

त्यसैगरी कावासोतीको डण्डामा न्यु महालक्ष्मी रोडा एण्ड एग्रिगेट इण्डष्ट्रीज प्रालि, दलदलेमा नवलपुर क्रसर उद्योग, मनकामना क्रसर उद्योग रहेका छन् ।

त्यस्तै केउरेनीमा कालिका क्रसर उद्योग, झरही खोलामा त्रिशक्ति झरही क्रसर एण्ड स्क्रिन प्लाण्ट उद्योग, महालक्ष्मी क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।

नवलपुरमा दर्ता भएर सञ्चालनमा रहेका यि १२ वटै क्रसर उद्योगहरु कोही खोला तथा नदी किनारमा, कोही राजमार्ग (सडक) किनारमा, कोही विद्यालय नजिक, कोही जंगल नजिक, कोही सुरक्षा निकायकै नजिकै सञ्चालनमा रहेका छन् ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आफूले पनि केही क्रसर उद्योगहरु अनुगमन गरेको ति क्रसर उद्योगहरु अधिकांश मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको बताइन् ।

नवलपुर जिल्लामा क्रसर उद्योग ता बालुवा प्रशोधन केन्द्रका अवस्थाहरु, दर्ता भए नभएको, अन्य प्रक्रिया पुरा गरे नगरेको, भ्याट विल भए नभएको, भ्याटविल काटे नकाटेको, आईईई/ईआईए, गरे नगरेको लगायतका सबै विषय निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

अनुगमनको क्रममा कतिपयले दर्ता नै नगरेको कतिपयले आईईई/ईआईए नगरेको कतिपयले फर्जी बिल काट्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् । नवलपुरका अन्य क्रसर उद्योग तथा प्रशोधन केन्द्रको अनुगमन गरेर जिल्लाको यथार्थ अवस्था आएपछि मात्रै सबैलाई एकै पटक कानुनी कारवाही अगाडि बढाउने उनले बताइन् ।

राजश्व असुली गर्न खोज्दा एलडिओ नै सरुवा

नवलपरासी जिल्ला एउटै हुँदा केही क्रसर उद्योगहरु अवैध रुपमा उत्खनन गरेका क्रसर उद्योगहरुको अवैध नदीजन्य वस्तु जफत गरेर त्यसको जरिवाना असुली गर्न खोज्दा नवलपरासीमा स्थानीय विकास अधिकारी नै सरुवा भएको घटना समेत घटेको छ ।

तत्कालिन स्थानीय विकास अधिकारी युवराज कट्टेलसरुवा भएका थिए । तत्कालिन स्थानीय विकास अधिकारी कट्टेलले आफू सरुवा हुन दुखद भएको तर राज्यले खटाएको ठाउँमा आफू जान तयार रहेको भन्दै सरुवा लिएर गएका थिए ।

उनलाई समान्य प्रशासन मन्त्रालयले २०७४ असार ३० गते सरुवा गरेको थियो । चोरमारामा रहेको न्यु मनकामना क्रसर उद्योगले बुझाउने पर्ने झण्डै २ करोड राजश्व नतिरेसम्म उद्योग सञ्चालन गर्न नदिने निर्णय गरेकै दिन उनलाई सरुवा गरिएको थियो ।

अधिकांश प्रशोधन केन्द्र अवैध

६० बढी प्रसोधन केन्द्र रहेको नवलपुरमा अधिकांश बालुवा प्रशोधन केन्द्र अवैध रुपमा सञ्चालनमा रहेका छन् ।
ति प्रसोधन केन्द्र (उद्योग) ले कतिले दर्ता समेत नगरी सञ्चालन गरेको, कतिपयले दर्ता गरे पनि आईईई÷ईआईए नगरेको, बालुवा प्रसोधन गर्ने भनि सञ्चालन गरे पनि क्रसर उद्योगले सरह गिटी कुट्ने, ढुंगा समेत विक्री गर्ने गरेको पाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताए ।
प्रशोधन केन्द्रहरु पनि धेरै जसो खोला नजिक, जंगल छेउ, घनाबस्तीको बीचमा सञ्चालनमा रहेको फर्जी बिल काट्ने गरेको समेत पाइएको छ ।

राज्यले तोकेको ठाउँमा जान तयार छौंः क्रसर व्यवसायी

 

नवलपुरका क्रसर व्यवसायीहरुले नवलपुरमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु सञ्चालनका वखत मापदण्द अनुसार सञ्चालनमा रहेको तर अहिले नयाँ नयाँ मापदण्द आउँदा मापदण्द विपरित हुने पुगेको स्वीकार गरेका छन् ।

नेपाल रोडा ढुंगा व्यवसायी संघ नवलपुरका अध्यक्ष भोजेन्द्र बहादुर राजमाझीले राज्यले निर्धारण गरिदिएको मापदण्द अनुसारको स्थान राज्यले देखाइदिए आफूहरु उक्त स्थानमा गएर क्रसर उद्योग सञ्चालन गर्न तयार रहेको बताए ।

उनले भने – ढुवानीको लागि बाटो, प्रसोधनका लागि पानी र उद्योग सञ्चालनका लागि विजुली उपलब्ध गराउने र राज्यले निर्धारण गरेको मापदण्द अनुसारको स्थान भए आफूहरु राज्यले तोकेको स्थानमा गएर उद्योग सञ्चालन गर्न तयार छौं ।

रायमाझीले राज्यले ल्याएको नयाँ मापदण्द अनुसारको स्थान पाउन मुस्किल पर्ने समेत बताए ।

नेपाल रोडा ढुंगा व्यवसायी संघ नवलपुरका अध्यक्ष रायमाझीसँग गरिएको पुरा कुराकानी हेर्नुहोस् 

https://www.youtube.com/watch?v=qL5DDB4D4Ec

प्रशासनले थाल्यो अनुगमन

नवलपुर प्रशासनले जिल्ला भित्र सञ्चालनमा रहेका क्रसर उद्योग तथा प्रशोधन केन्द्रहरुको अनुगमन थालेको छ ।
नवलपुरमा एक दर्जन बढी क्रसर उद्योग र ५ दर्जन बढी प्रसोधन उद्योगहरु सञ्चालनमा रहेका छन् ।
प्रशासनले बुधबार दुम्किबास आसपासका क्षेत्रमा सञ्चालनमा रहेको क्रसर र प्रशोधन उद्योगमा अनुगमन शुरु गरेको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको नेतृत्वमा, सुरक्षा निकायको समेतको सहभागितामा अनुगमन शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पंगेनीले अनुगमनलाई निरन्तरता दिने बताइन् । उनले भनिन् – हामीले ससाना विषयलाई पनि ध्यान दिएर अनुगमन गरेका छौं । स्टक सामग्रीको तथ्यांक पनि मागेका छौं ।



सम्बन्धित
Loading...