कक्षा १२ को परीक्षा भोलिदेखि, नवलपुरमा ६८१३ जना परीक्षार्थी सहभागी हुँदै
नवलपुर । कक्षा १२ को परीक्षा भोलिदेखि शुरु हुँदै छ । नवलपुरमा पनि भोलि विहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा हुने शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए ।
पोख्रेलका अनुसार भोलि सोमबारदेखि हुने परीक्षामा नवलपुरका ६० वटा विद्यालयका ६ हजार ८ सय १३ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
कोभिड १९ का कारण ढिलो भएको कक्षा १२ को परीक्षा यस पटक होम स्टेर अर्थात सम्बन्धित विद्यालयमै दिने गरी परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी १०० पुर्णांकको परीक्षालाई ३ तहमा विभाजन गरी २० अंक विद्यालयले प्रयोगात्मक रुपमा दिन पाउने, कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० अंक निर्धारण गर्ने र बाँकी ४० अंकको लागि मात्र परीक्षा लिन लागिएको हो ।
इकाई प्रमुख पोख्रेलले नवलपुरमा २० जना विद्यार्थी बराबर एक जना निरीक्षक तोकी एउटा कक्षामा २० जना भन्दा बढी परीक्षार्थी राखेर परीक्षा दिन नपाउने प्रावधान राखेको बताए ।
नवलपुरमा यस बर्ष नियमित तर्फ ४ हजार ९ सय ९ जना र ग्रेड वृद्धि तर्फ १ हजार ९ सय ४ जना परीक्षार्थी सहभागी हुँदैछन् ।