राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेकपामा जारी आन्तरिक विवाद समाधान प्रयासका लागि छलफल गर्न राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई शीतलनिवास बोलाउनुभएको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार बिहान प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग शीतलनिवासमा छलफल गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले भेटमा दुवै अध्यक्षलालाई समभदारीको वातावरण बनाएर अघि बढ्न सुझाव दिएको बुझिएको छ । अध्यक्ष प्रचण्डको १९ पृष्ठको प्रस्ताव पनि नेकपाको विवाद झनै उत्कर्षमा पुगेको छ । यद्यपि नेताहरुले छलफलकै माध्यमबाट समहति गर्ने प्रयास गरिरहेका छन् ।
नेकपाको विवाद ‘चरम उत्कर्ष’मा पुगेका बेला प्रचण्डले राष्ट्रपति भण्डारी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन् ।
बुधवारको सचिवालय बैठकमा ओली सहभागी नभएपछि स्थायी कमिटी बैठक तीन दिन पछाडि सारेर अनौपचारिक छलफल अगाडि बढाउने निर्णय भएको थियो ।
त्यसको अर्को दिन पार्टीका दुवै अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।
मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई घण्टा लामो छलफल गरेका थिए ।
छलफलको विषयबस्तुबारे शितलनिवास र बालुवाटारबाट केही बताइएको छैन ।
त्यसैगरी अर्का अध्यक्ष दाहालसँगको भेटमा भएका कुराकानीबारे औपचारिक जानकारी दिइएको छैन ।
गत कात्तिक १८ मा नेकपा विवाद चर्किएको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए ।
नेकपा विवादमा राष्ट्रपति भण्डारीको चासो र समाधानमा देखाएको सक्रियतालाई लिएर उनको आलोचनासमेत हुँदै आएको छ ।