कांग्रेसभित्र उठ्यो छाया सरकार हेरफेरको माग
नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ ।
‘सरकार भन्दा छाया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाया सरकार हेरफेरको माग राखेका छन् ।
संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको बैठकमा केही सांसदहरुले छाया सरकारकै आलोचना गरे ।
कांग्रेसले एउटा मन्त्रालय तीन जनासम्म सांसदलाई जिम्मा दिएर ६ जेठ ०७६ मा २५ सदस्यीय छाया सरकार घोषणा गरेको थियो । कांग्रेस नेता प्रकाशमान सिंहले ‘कुन कुन छाया मन्त्रीले के के गर्नुभयो त्यो सेयर गर्नुपर्यो र आवश्यक परे जिम्मेवारी हेरफर गर्नुपर्यो ।’
बैठकमा सहभागी नेताहरुका अनुसार छाया सरकारको काम कारबाहीमाथि प्रश्न उठेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले छाया मन्त्रीहरुको कामको समीक्षा हुने बताएका छन् ।
https://www.youtube.com/watch?v=NAvT731Fr_k
