राष्ट्रपतिले संसद विघटन गर्नुपूर्व प्रधानमन्त्री विरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता (पत्रसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको तथ्य बाहिर आएको छ ।
संसद सचिवालयका अनुसार दर्ता नम्बर १ रहेको सो प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका छन्। सो पत्र राष्ट्रपतिले संसद विघटन गर्नुभन्दा अगाडि नै संसद सचिवालयमा दर्ता भएको संसद सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदमा प्रधानमन्त्रीले संसद विघटन गर्ने निर्णय सुनाए लगत्तै नेकपाका सांसदहरुले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बताए।
संसदको कुल सदस्यसंख्याका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ।









