राष्ट्रिय जनमुक्ति पार्टीको ३० औं स्थापना दिवस देशभर सम्पन्न
काठमाडौं । माघ ६ गते ।
राष्ट्रिय जनमुक्ति पार्टीको ३० औं स्थापना दिवस मँगलबार देशैभर मनाईएको छ । यस अवसरमा पार्टीको केन्द्र , प्रदेश र जिल्ला तहमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको पार्टीले जनाएको छ । गौरवशाली ३० औँ स्थापना दिवसका अवसरमा पार्टी सँघीय परिषदको आयोजना तथा प्रदेश ३ (वागमती) परिचालन समितिको व्यवस्थापनमा काठमाडौंमा भेटभाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका संस्थापक नेता तथा पार्टी संरक्षक एम.एस.थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थापाले उत्तरी छिमेकी चीनले प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई पार्टीको अध्यक्ष वा प्रधानमन्त्री पद मध्ये एक छोडेर नेकपा (नेकपा) लाई एक ढिक्का बनाउन गरेको सुझावलाई पन्छाएर प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम चालेको बताउनु भयो । वहाँले देश एमसीसी र बीआरआई प्रोजेक्टको मारमा परेकोले प्रतिनिधि सभा विघटनसम्म पुग्न परेको टिप्पणी गर्नुभयो । प्रतिनीधि सभा बिघटन पछि पुनःस्थापनाका लागि सर्वोच्चमा दायर भएका रिटको पक्षमा नै फैसला हुनेमा वहाँले ठोकुवा पनि गर्नुभयो । हालको विश्वमा कुनैपनि सन्दर्भले कुनैपनि देश अछुतो रहन नसक्ने कुरा स्मरण गराउँदै पुर्ब यातायात तथा श्रम मन्त्री समेत रहनुभएका थापाले भन्नु भयो – “हाम्रा सम्बन्ध राष्ट्रियतालाई केन्द्रमा राखेर मात्र अगाडि बढाउन जरुरी छ । ” राष्ट्रिय जनमुक्ति पार्टीलाई सत्तामा पु¥याउनका लागि कुनै न कुनै शक्तिसंग कार्यगत एकता गरेर अगाडि बढ्न वहाँको सुझाव छ । यस्तैगरी पार्टीका वरिष्ठ नेता डिके बुद्धिष्ट (देव कुमार लामा) तामाङ्गले पार्टीले अहिंसात्मक तरिकाले आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउन जरुरी भएको बताउनु भएको छ । अब निर्माणवादी सोंचबाट ओतप्रोत भई लाखौं कृयाशिल सदस्यहरु राष्ट्रिय जनमुक्ति पार्टीले जन्माउनु पर्ने उहाँको सुझाव छ । कार्यक्रममा संघीय महासभा सदस्य क्या.देउ बहादुर राना, पार्टीका पूर्व संगठन विभाग प्रमुख डुप वाङगेल तामाङग लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा पार्टी अध्यक्ष एवमं ३०औं स्थापना दिवस समारोह समितिका संयोजक खड्ग प्रसाद पालुङवाको अध्यक्षता रहेको थियो । कार्यक्रममा विभिन्न दल परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नुहुने महानुभावहरुलाई अध्यक्ष खड्ग प्रसाद पालुङवाले खादा ओढाई स्वागत र सम्मान गर्नु भएको थियो ।
यसैबीच पार्टीको स्थापना दिवसका अवसरमा बिदेश स्थित प्रवास समितिहरुले पनि बिबिध कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । पार्टीको १८ भन्दा बढी देशहरुमा जनमुक्ति मञ्चका नाममा प्रवास समिति गठन भएका छन् ।
