ओली र नेपाल आआफ्नै अडानमा, २८ फागुनको निर्णय फिर्ता लिन नेपाल पक्षको दबाब
नेकपा एमालेको माधव नेपाल पक्षले २८ फागुनमा बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनु पर्ने अडान राखेको छ ।संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सोमबार धुम्बाराहीमा भएको छलफलमा नेपाल पक्षले २८ फागुनको निर्णय आफूहरूलाई थाहा नभएको जनाउँदै निर्णय स्वीकार्य नभएको अडान राखेको छ ।
छलफल सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको जानकारी दिए ।
‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।नेता पन्तले सौहार्दपूर्ण रुपमा वार्ता भएको र कुराकानी जारी रहने बताए । ‘कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’ उनले भने ।
यस्तै, बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षका अर्का नेता भीम रावलले सर्वोच्चले एमाले तीन वर्ष अघिकै अवस्थामा फर्केको भनेपछि त्यही अवस्थाबाट अघि बढ्नुपर्छ भनेर छलफलमा आफूहरूको पक्षले कुरा राखेको बताए । तर, आफूहरूको मागप्रति अध्यक्ष ओली सकारात्मक नदेखिएको उनले बताए ।
‘सर्वोच्चको फैसलापछि यहाँ भएका भनिएका सबै निर्णयहरु प्रभाव शून्य हुन्छन् भनेर हामीले भन्यौँ । २८ गतेको भनिएको बैठकले गरेका निर्णय पनि शुन्य हुन्छन् भनेर हामीले राख्यौँ ।’ उनले भने, ‘तर उहाँहरूले स्वीकार गर्नुभएको सुन्न पाएनौँ । त्यसलाई हामीले स्वीकार गर्ने कुरै भएन ।’
