माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट जारी स्थायी समिति बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
माओवादी नेताहरुका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।
यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । तर बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न सकेको छैन ।
