नेपाल नेदरल्याण्ड्ससँग पराजित
राजधानीमा जारी त्रिदेशीय टी—२० क्रिकेट सिरिज अन्तरगत नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा बस डि लिडेले ८१ रनको योगदान दिए । बिन कोपरले ५५ रन बनाए । यस्तै पिटर सेलरले ३१ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । यस्तै अविनाश र कुशल मल्लले एक—एक विकेट लिएका थिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ६० रन बनाए। कुशलले ४६ बलमा ८ चौका र एक छक्कासहित ६२ रन बनाएका हुन् भने दीपेन्द्रले ३० बलमा ३ चौका र ५ छक्कासहित ६० रन बनाएका हुन्। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ला २० रनमा आउट भए भने कुशल मल्ल १८ रन बनाएर पेभेलियन फर्किए।
त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए भने विनोद भण्डारीले ७ रन बनाए। आजको खेलमा आजको खेलमा ओपनर आशिफ सेख शून्यमै आउट भएका थिए। करण केसीले भने एक रन बनाए। नेदरल्यान्ड्सका लागि विवियन किङ्मा र पिटर सिलारले दुई दुई विकेट लिए।
नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ ।
