प्रधानमन्त्री रोजगार कार्यक्रम : पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा




दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८५० रुपैयाँ आउँछ। न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ। निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन्। बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन। बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन।

नेपाल सरकारले बेरोजगार युवाका लागि कम्तीमा १०० दिन काम दिने नीतिका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ।




गाउँपालिका तथा नगरपालिकामार्फत् सञ्चालन हुने यो कार्यक्रम कतै प्रभावकारी बनेको छ भने कतै बेरोजगारको चित्त दुखाउने बाटो बनेको छ।

गाउँमा चलेको पारिश्रमिकको दर नपाएको भन्दै काठेखोला गाउँपालिका–५ बिहुँका युवाले रोजगार कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका छन्। गत वर्ष सोही कार्यक्रमले दिएको दैनिक ज्याला दरसमेत यस वर्ष घटाएको भन्दै उनीहरू रोजगार कार्यक्रममा सहभागी नभएका हुन्।

दिनभर काम गर्दा पाउने ५१७ रुपैयाँले परिवारको एकदिनकै खर्च चलाउन कठिन हुने बिहुँका एक युवाले बताए।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनेको दैनिक पारिश्रमिक यो वर्ष ५१७ रुपैयाँमात्रै तोकेको छ। काम गरेपछि भुक्तानीको प्रक्रियासमेत झण्झटिलो र खर्चिलो भएको भन्दै युवाले काम गर्न नमानेको स्थानीय अगुवा किसान ज्ञानु श्रीषले बताए ।



सम्बन्धित
Loading...