उज्यालो नेटवर्कका कार्यकारी सम्पादक र महा-प्रबन्धक पक्राउविरूद्ध परेको रिटमा सर्वोच्चले माग्यो कारण देखाऊ आदेश
सर्वोच अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा-प्रबन्धक प्रभात लामा पक्राउविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले जनाएको छ।
प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा ललितपुर पत्रकार महासंघले हालेको बन्दीप्रत्येक्षीकरण रिटमा अदालतले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
प्रहरीले कार्यकारी सम्पादक तामाङ र महा-प्रबन्धक लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा कसुरमा आइतबार पक्राउ गरेको थियो।
उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।