भिसा आए पनि समस्यामा सन्दीप


लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार बेलायतको भिसा प्राप्त गरेका छन् । भिसा प्राप्त गरेसँगै सन्दीपलाई टी–२० ब्लास्ट र द हन्ड्रेड बल प्रतियोगिता खेल्न बाटो खुला भएको छ । सन्दीप टी–२० ब्लास्टमा वोर्स्टसायर र द हन्ड्रेड बलमा इन्भिसिवल्समा आबद्ध छन् । ‘सन्दीपको भिसा शुक्रबार आएको छ अब बेलायत प्रतियोगितामा भाग लिने तयारीमा छ,’ सन्दीपका एजेन्ट रमन सिवाकोटीले बताए ।



भिसा भिएफएस ग्लोबलमार्फत सन्दीपको भिसा आएको हो । भिएफएस आउटसोर्सिङ टेक्नोलोजी सेवा प्रदायक कम्पनी हो । यसले विश्वभरि भिसा सहजीकरण गर्ने काम गर्छ । यसै कम्पनीको भिसा आवदेन दिएका एजेन्टका भिसा र राहदानी सम्बन्धित निकाय जानकारी गराउँछ । यसैमार्फत सन्दीपले भिसा पाएका हुन् ।

यद्यपि सन्दीपले बेलायतमै ९ जुनदेखि १८ सेप्टेम्बरसम्म चल्ने टी–२० ब्लास्टमा सहभागिता जनाउन धेरै समस्या झेल्नुपर्ने देखिन्छ । टी–२० ब्लास्टको सुरुकै खेलमा आबद्ध हुन सन्दीप मेको अन्तिम सातामै बेलायत पुग्नुपर्ने थियो । तर। भिसा समयमै प्राप्त गर्न नसक्दा सन्दीपले केही समस्या झेल्नुपर्ने उनका एजेन्ट सिवाकोटीले जानकारी दिएका छन् । सिवाकोटीका अनुसार बेलायतले अनिवार्य दश दिनको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । यो प्रोटोकल अपनाएर बेलायत जाँदा सन्दीप १० दिन क्वारेन्टिनमा बस्नुपर्छ । दुईपटकसम्म कोरोनाको रिपोर्ट नेगेटिभ आउँदा मात्र उनी टी–२० ब्लास्टमा सहभागी हुन पाउनेछन् ।




‘भोलि वा पर्सि नै सन्दीप बेलायतमा प्रस्थान गर्दा पनि त्यहाँ दश दिनको क्वारेन्टिनमा बस्नुपर्छ, त्यो वेलासम्म टी–२० ब्लास्टमा उनी आबद्ध टोलीले चार वा पाँच खेल खेलिसक्नेछ,’ कोरोनाको प्रोटोकल अपनाउँदा सन्दीपले केही खेल गुमाउन सक्ने जनाउँदै सिवाकोटीले भने, ‘यद्यपि वोस्र्टसायरले सन्दीपलाई पूरै सिजनकै लागि अनुबन्ध गरेको छ ।’

टी–२० ब्लास्टअन्तर्गत वोर्स्टसायर टोलीसँग कुराकानी भइरहेको सिवाकोटीले जानकारी दिएका छन् । तर, उनीहरूले आधिकारिक रूपमा सो टोलीले स्पष्ट जवाफ नपाएको सिवाकोटीको भनाइ छ । ‘सन्दीपको भिसा प्राप्त गरेको र त्यहाँ पुग्ने समयबारे जानकारी गराएका छौँ, तर सम्बन्धित निकायबाट केही पनि जानकारी आएको छैन,’ सिवाकोटी भन्छन्, ‘सन्दीपले धेरै खेल गुमाउने भएकाले टोली पनि अन्योलमा भएको जस्तो लाग्छ, हामीले रिक्वेस्ट गरेका छौँ ।’ वोस्र्टसायरले सन्दीपलाई अनुबन्ध गरेका कारण सम्झौता रकम खुलाइएको छैन ।

यता क्रिकेटकै नयाँ शैलीको द हन्ड्रेड बलमा सन्दीप इन्भिसिवल्समा ड्राफ्टमातर्फ एक करोड ४७ लाख २५ हजार रुपैयाँमा अनुबन्ध भएका हुन् । विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो । द हन्ड्रेड’ २२ जुलाईदेखि १८ अगस्टमा हुनेछ । टी–२० ब्लास्ट सँगसँगै सन्दीपले द हन्ड्रेड बलमा पनि सहभागिता जनाउनेछन् ।

यसअघि टी–२० ब्लास्ट र द हन्डे«ड बलमा सहभागिता जनाउन समयमै भिसा प्राप्त गर्न नसक्दा सन्दीपले सामाजिक सञ्जालमा आफ्नो दुखेसो पोखेका थिए । उनले भिसा आवदेन दिएको एक महिनासम्म पनि सम्बन्धित निकायबाट केही जानकारी प्राप्त नहुँदा ट्विटरमा यस्तो ट्विट गरेका थिए, ‘टी–२० ब्लास्ट र द हन्ड्रेड बलमा सहभागी हुन जानेका लागि बेलायतमा भिसा अप्लाई गरेको एक महिना बढी समय भइसकेको छ, मेरो फ्लाइटको दिन नजिक आइरहेको छ, बारम्बार सम्बन्धित नियकासँग कुराकानी गर्दा केही पनि स्पष्ट जवाफ आएको छैन ।’

सन्दीपले कोरोनाको महामारीका वेलामा खेलाडीले आफ्नोतर्फबाट विश्वलाई मनोरञ्जन दिने प्रयास गरिरहेको जनाएका थिए । उनले भनेका छन्, ‘कुनै पनि किसिमको सहयोगको म ठूलो सम्मान गर्ने छु ।’ सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएको डेढ सातापछि भिसा भिएफएस ग्लोबलमार्फत सन्दीपको भिसा आएको हो ।



सम्बन्धित
Loading...