फिफा विश्वकप छनोटमा आज नेपाल र जोर्डन भिड्दै

111












काठमाडौँ– फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।


कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रिने जानकारी दिए ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने उनले बताए । जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ ।

छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।



You might also like
Loading...