पूर्व माओवादीका नेता लगायत ८ जनालाई एमाले थप्यो स्थायी कमिटीमा
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीमा ८ जना सदस्य थप गरेको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपां) को स्थायी कमिटीमा रहेका सदस्यहरूलाई कमिटीमा समावेश गर्ने निर्णय गरेको हो ।
बैठकले रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, रघुवीर महासेठ, विष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसाललाई स्थायी कमिटीमा रहने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार नेकपामा केन्द्रीय कमिटी सदस्य भएकाहरू एमालेको केन्द्रीय कमिटीमा रहने निर्णय पनि गरेको छ ।
बैठकले महाधिवेशन आयोजक कमिटीलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाउँदै उसले गरेको कारबाहीलाई मान्यता नदिएपछि पुनः केन्द्रीय कमिटीमै फर्किएको हो ।
महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेपाल समूहका नेताहरूमाथि गरिएको कारबाहीहरू निष्प्रभावी भएका छन् ।
