नवलपरासी भित्राउन लागिएको २ करोड बढीको लागुऔषध भारतमा बरामद

भारतीय अधिकारीद्धारा ६ अर्ब ६८ करोडको दाबी


हरि शर्मा –
परासी । नवलपरासी पठाउनका लागि गोदाममा राखिएको ठूलो मात्राको लागुऔषध भारतीय प्रहरीले बरामद गरेको छ ।
पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ कि.मि.को दुरीमा रहेको भारतिय बजार ठूठीबारी नजिकको जमुईकला गाउँबाट भारतीय सुरक्षा टोलीले ४ दिनअघि छापा मारेर लागुऔषध बरामद गरेको हो ।



बरामद भएको लागुऔषधको मूल्य भारतीय अधिकारीहरुले ६ अर्ब ६८ करोड रहेको दाबी गरेका छन् । भारतबाट प्रकाशित हुने सबैजसो दैनिक पत्रिकाहरुले अधिकारीहरुलाई उद्दृतगर्दै ६ सय ६८ करोड भारतीय रुपैयाँ बराबरको लागुऔषध बरामद भएको जनाएका छन् ।
अन्तराष्ट्रिय बजारको तुलना गरेर लागुऔषधको मूल्य राखेको भारतिय अधिकारीहरुलाई उद्दृत गर्दै हिन्दुस्तान दैनिकका पत्रकार मनोज कुमार जोशीले दाउन्नेलाई बताए । बरामद भएको परिणामअनुसार भारतीय बजारमा २ करोड बढी नेपाली रुपैयाँ पर्ने लागुऔषध रहेको अनुमान गरिएको छ । लागुऔषध करिब १ ट्रक बढी छ ।




भारतीय बजारमा पर्ने लागुऔषधको मूल्य नवलपरासी पु¥याउँदा दोब्बर हुने र चितवन, पोखरा, हेटौडाहुँदै काठमाण्डौंसम्म पु¥याउँदा पाँच गुना बढी मूल्य पर्ने गरेको नेपालबाट लागुऔषध सेवन गर्न भारत जाने दुव्र्यसनी र कारोबार गर्ने व्यक्तिहरुले बताएका छन् ।
एक दुव्र्यसनीका अनुसार भारतमा १ सय ५० रुपैयाँमा पाइने एक फाइल लागुऔषध काठमाण्डौंमा बिक्रीहुँदा ३ हजार सम्म पर्छ । ३ सय रुपैयाँ पर्ने सिरफ चितवन, हेटौडा र काठमाण्डौं पु¥याउँदा ३ हजारदेखि ४ हजारसम्म पर्ने गरेको बताइएको छ ।

बरामद भएका सबै लागुऔषध नेपाल पठाउनका लागि गोदाममा राखिएको अधिकारीहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । नवलपरासीको सीमावर्ती नाका नजिकबाट बरामद भएका कारण लागुऔषध सोही जिल्लाको नाका भएर नेपाल पठाउन राखिएको अधिकारीहरुले दाबी गरेका छन् ।

केही लागुऔषध सीमावर्ती भारतीय बजार ठूठीबारी, बर्गदवा, लक्ष्मीपुर खुर्द बजारका मेडिकलहरुमा पनि पठाउने अवस्थामा रहेको बताइएको छ । जिल्लाका नाकाहुँदै नेपाली दुव्र्यसनीहरु दैनिकरुपमा उक्त बजार क्षेत्रमा लागुऔषध सेवन गर्न जाने गरेका छन् ।
जसका कारण ति बजारमा लागुऔषधको खपत बढी हुने गरेको छ । सोही नाकाहरुबाट कारोबारीहरुले लागुऔषध नेपालका विभिन्न शहरमा पु¥याउने भारतीय अधिकारीहरुले बताएका छन् । लागुऔषध बरामद गर्न डिएम (सिडिओ) डा. उज्ज्वल कुमार, एसडिएम (सहायक प्रमुख जिल्ला अधिकारी) प्रमोद कुमार, एसपी प्रदिप गुप्ता, एसएसबी (भारतीय सीमा सुरक्षा बल) प्रमुख मनोज कुमारको टोली पुगेको थियो ।

जमुईकला गाउँका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार)को गोदाममा छापा मारेर लागुऔषध बरामद भएको हो । कारोबारी गोबिन्द फरार छन् । सुरक्षाकर्मीले गोबिन्दका भाई रमेशलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको छ । लागुऔषध कारोबारी गोबिन्दको गडौरा बजारमा मेडिकल सञ्चालनमा छन् । उनले गोरखपुरका विभिन्न थोक बिक्रेताहरुबाट उक्त लागुऔषध ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोबिन्दको उक्त गोदाममा लाम लागेरै नेपाली युवाहरु दैनिक रुपमा लागुऔषध लिन जाने गरेको बताइएको छ । त्यहाँबाट युवाहरुले लुकाएर लागुऔषध भित्राउने गरेको अधिकारीहरुले जनाएका छन् ।

बरामद भएका लागुऔषध विभिन्न नाम गरेका सिरप, ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन र एप्पुल छन् । पत्रकार सम्मेलनमा सार्वजनिक गरेअनुसार २८ हजार २ सय २० इन्जेक्सन, १८ हजार ७ सय ८२ सिसी सिरप, ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल, १ लाख २४ हजार ८ सय ७५ ट्याब्लेट बरामद गरिएको छ ।

त्यस्तै नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० वटा स्टिकरसमेत बरामद भएको छ । लागुऔषध सेवन गर्ने एक दुव्यर्सनीले बरामद भएका औषधिको सीमावर्ती भारतीय बजारमा पाइने नेपाली मूल्य तोक्दै भने‘ सिरपको प्रति बोत्तल ( १ सय एमएल) २ सय ८० देखि ३ सय छ । प्रति ट्याब्लेट र क्याप्सुलको १५ देखि २५ रुपैयाँ छ । त्यस्तै इन्जेक्सन १ सय ९० रुपैयाँ (एक वटामा ३ वटा ) छ ।

भारतीय अधिकारीले तोकेको अन्तराष्ट्रिय मूल्य

बरामद भएका लागुऔषधलाई भने भारतीय अधिकारीहरुले कोडिनमा परिणत गर्दै डलरको भाउ लगाएका छन् । जसअनुसार बुप्रेनार्फिन ३३ हजार ५ सय ६० ग्रामको ७ सय ५० डलर तोकेर २ अर्ब ५२ करोड पु¥याएका छन् ।

त्यस्तै १ करोड ८७ लाख ८ हजार २ सय ग्राम कोडिन फोस्फेटको ५६ रुपैयाँ डलरको भाउँ तोकेर ३ अर्ब तोकिएको छ । ड्रामाडोल ९७ हजार ३ सय ११ ग्रामको ८० डलर तोकेर २५ करोड ९४ लाख पु¥याएका छन् । अल्प्राजोम ४ हजार ७ सय ७५ ग्रामको १५ लाख २२ हजार तोकेका छन् ।

त्यस्तै निट्राज्पाम ४५ हजार २ सय ४० ग्रामको २८ डलर तोकेर २५ करोड ३३ लाख पु¥याएका छन् । यसरी उनीहरुले अन्राष्ट्रिय मूल्य अनुसार ६ सय ६८ करोड भारतीय रुपैयाँ बराबरको लागुऔषध बरामद भएको जनाएका हुन् ।

फरारमाथि २५ हजारको इनाम

फरार रहेका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार)लाई पक्राउ गर्ने वा जानकारी गराउनेलाई २५ हजार इनामको घोषणा गरिएको एसपी प्रदिप गुप्ताले पत्रकार सम्मेलनमा बताए ।

यसअघि पनि उनीमाथि लागुऔषधमा प्रहरीले मुद्दा चलाएको थियो । प्रहरीको आँखा छल्दै आएका उनले लागुऔषधको कारोबारलाई निरन्तरता दिदैं आएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

के भन्छ नेपाल प्रहरी

भारतमा ठूलो परिणाममा लागुऔषध बरामद भएपनि नवलपरासी प्रहरीले भने एक वर्षको अवधिमा करिब ७ लाख बराबरको बरामद गरेको छ ।

बरामद भएको लागुऔषध भारतमा समेत पूर्ण रुपमा प्रतिबन्द छ । भारतमा बरामद भएको ठूलो परिणामको लागुऔषध नेपाल भित्राउनकै उद्देश्यले ल्याउन लागेको नवलपरासी प्रहरीले पनि स्वीकार गरेको छ ।

https://www.youtube.com/watch?v=wp94g_fMWV4&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2

यसले नवलपरासी जिल्लाका केही सीमा क्षेत्रलाई लागुऔषध कारोबारीले ट्रान्जिट प्वाइण्टका रुपमा प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

नेपाल आउनु अघि नै भारतीय सुरक्षा अधिकारीहरुले ठूलो मात्रामा लागुऔषध बरामद गरेको जानकारी पाएकोले त्यसबाट नेपाललाई पनि फाइदा पुगेको लामाको भनाई छ । ‘ यो बरामदले नेपालमा लागुऔषधको अवस्था भयावह पनि देखाउँछ । खुला सीमा भएकाले केही समस्या छ । तर पनि प्रहरीले लागुऔषध नियन्त्रणमा कुनै कसर बाँकी राखेको छैन । ’ लामाले भने । एक वर्षको अवधिमा प्रहरीले ४९ जनालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ ।

गत साउनदेखि असारसम्म भएका ३४ वटा लागुऔषधका घटनामा संलग्नमध्ये ४ जना फरार छन् । यो अवधिमा प्रहरीले डाइजेपाम, नुर्फिन र फेनारगन गरी कुल ६ हजार ६ सय ८२ एप्पुल बरामद गरेको छ । त्यस्तै नाइट्रोसन, नाइट्रोभेटसहित ३ हजार ४ सय ३४ ट्याब्लेट बरामद गरेको छ । स्मास्मोभ, प्रोक्सिमन ३ हजार २ सय ९८ क्याप्सुल बरामद गरेको छ । बरामद भएका अन्य लागुऔषधमा फेन्सिडिल र ओनेरेक्स २ सय ४७ बोत्तल, ब्राउन सुगर ४ सय ८२ मिलिग्राम र गाँवा २ केजी ९० ग्राम बरामद भएको डिएसपी लामाले जानकारी दिए । ब्राउन सुगर र गाँजा बाहेक बरामद भएका लागुऔषधको मूल्य करिब ७ लाख बराबरको रहेको छ ।

जिल्लाबाट पक्राउ परेका व्यक्तिहरुले मोटरसाइकल, साइकल र शरिर तथा पोकाहरुमा लुकाएर लैजाने गरेको प्रहरीले जनाएको छ । चारपाङ«े गाडीबाट भने ठूलो परिमाणमा लागुऔषध लैजाने गरेको नपाइएको डिएसपी लामाको भनाई छ ।



सम्बन्धित
Loading...