पश्चिम नवलपरासीमा बाढीले मध्यरातमा विचल्लीः २ को मृत्यु १ वेपत्ता
हरि शर्मा –
परासी, ११ भदौ । मध्यरातमा एक्कासी आएको बाढीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित रह्यो । बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरु डुबानमा परे । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो । राति २ बजेको मस्त निद्रामा रहेका स्थानीयहरु एक्कासी कोठाभित्र पसेको पानीको चिसोले ब्युझिन पुगेका थिए ।
कोठाभित्र पानी पसिसकेका कारण खाद्यन्नदेखि लत्ताकपडालगाएतका सामाग्रीहरु स्थानीयहरुले स्याहार्न पाएनन् । जिउ जोगाउन घरको छतमा बसेर मध्यरातमा हारगुहारको आवाज मात्र सुनिन्थ्यो । स्थानीयहरु एकसरो लुगामा घरको छत र उचोँ स्थानमा ज्यान जोगाउन पुगेका थिए । दिउँसो १ बजेसम्म पनि पानीको सतह नघटेपछि बालबालिकाहरु भोकले चिच्चाई रहेका थिए । छिमेकीहरु पनि त्यस्तै अवस्थामा रहेकाले एकअर्कालाई सहयोग गर्न सकने अवस्था देखिएको थिएन् ।
डुबानमा परेकाहरुलाई उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली डुबान क्षेत्रमा पुगेपनि पानीको सतह र बेगका कारण उद्दारमा कठिनाई भएको थियो । स्थानीयहरु छतमा सुरक्षित देखेपछि सुरक्षाकर्मीले इशाराबाट सान्तवना दिई रहेका थिए ।
८÷१० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका थिए । विगतमा डुबान हुने भएपनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीयहरुले बताएका छन् । दिउँसो २ बजेदेखि पानीको सतह घट्दै गएको छ ।
https://www.youtube.com/watch?v=_uFnrRQrjeQ
https://www.youtube.com/channel/UCdVEllX6-3RtSujuMJI-nBQ
त्यसैगरी सदरमुकामपछि पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिनुभयो अधिकांश घर डुबानमा परेका कारण क्षतिको विवरण यकिन हुन नसकेको लामाले बताउनुभयो ।सदरमुकाममा स्थानीय झरही खोलाबाट आएको घर डुबानमा परेका हुन । भने अन्य स्थानीय तहमा स्थानीय खोलाका कारण डुबानमा परेका हुन् । पानीको निकास नभएका कारण पानी बग्न नपाउँदा सबैका घर डुबानमा परेका हुन् ।
यसैबीच बज्रदल गण परासीमा करिब १५ फिट जमेको थियो भने जिल्ला प्रहरी कार्यालयमा ६ फिटमाथि सम्म पानी जमेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु लामाले बताए ।
जलमग्न भएपछि सुरक्षाकर्मीहरुको हतियारको व्यवस्थापनमा समेत समस्या भएपनि सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ ।
२ को मृत्यु १ वेपत्ता
बाढीका कारण रामग्राम–१६ पम्फापुरका ३८ वर्षिय विनोद पासी र उनका छोरा १३ वर्षिय प्रदिप पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घरमा जाने क्रममा भेलले बगाएको हो ।
दुवै जनाको शव घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको डिएसपी लामाले जानकारी दिए ।
त्यसैगरी बाढीले ज्यान जोगान निस्कदा सुनवल–१३ की ओरिसा तामाङलाई भेलले बगाएर वेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध
बाढीका कारण पूर्वपश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध छ । तुरिया खोलामा आएको बाढीले पुल भाँच्न पुग्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन समेत बगाएको छ । अवरुद्ध राजमार्ग तत्काल खुल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
