पश्चिम नवलपरासी कांग्रेसमा चुनावी सरगर्मी: कंण्डेल र खनाल दुवै पक्षद्वारा जित्ने दाबी


 



परासी, असोज ८ ।नेपाली कांग्रेसको पालीका अधिवेशन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

 

पालीका अधिवेशनमा दुई गुटमा विभाजित कांग्रेसमा आफ्नो पक्षमा मतदाता पार्न दौडधुप चलिरहेको छ ।

 




जिल्लामा प्रतिनिधि सभा सदस्य एव्ं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ ।

 

कंडेल पार्टी सभापति एव्ं प्रधानमन्त्री शेर बहादुर देउवा गुटका हुनुहुन्छ भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुनुहुन्छ ।

 

दुवै गुटले पालिका अधिवेशनको नतिजा आफ्नो पक्षमा आउने दाबि गरेका छन् । खनाल पक्षले २ सय बढी मतको अन्तरले आफूहरु जित्ने दाबी गरेको छ भने कण्डेल पक्षले त्यस्को नतिजा चुनावले देखाउने दाबी गर्दै आएको छ ।

 

वडा क्षेत्रिय प्रतिनिधिले जिल्ला नेतृत्वदेखि/क्षेत्र/गाउँ/नगर र महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रावधान रहेकाले दुवै पक्षका नेताहरु रस्साकस्सीमा जुटेका हुन् । खनाल पक्षले जिल्ला नेतृत्वसहित १ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा खनाल जित निकाल्ने निश्चित रहेको बताएको छ ।

 

पालिकातर्फ २ नगरपालिका र २ वटा गाउँपालिकामा आफूहरु बलियो रहेको खनाल पक्षको दाबी छ तर कंण्डेल पक्षले भने चुनावको नतिजाले त्यसको निक्र्यौल गर्ने बताउँदै जिल्ला नेतृत्व सहित बहुमत पालीमा आफूहरुको जित हुने दाबी गरेको छ ।

 

रामग्राममा १८ वडा मध्ये १५ वडामा आफूहरुको बहुमत रहेको नेता कंण्डेलले बताउनुभयो । सुनवल, प्रतापपुर र सुस्तामा कडा प्रतिस्पर्धा देखिएको र बाँकि पालीकामा आफूहरुको जित सुनिश्चित रहेको उहाँको भनाई छ । हरेक पालीकामा खनाल र कंण्डेल दुवै गुटले छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

 

जिल्ला सभापतिमा कंडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् ।

 

यसैबिच कांग्रेस नेता देवेन्द्रराज कण्डेलले विक्रम खनाल पक्षधरले आफ्नो विपक्षमा रहेका निर्वाचित प्रतिनिधिलाई धम्क्यान सुरु गरेको आरोप लगाउनुभएको छ ।

 

कार्यक्रम ‘चासो र चर्चा’ सँगको कुराकानीमा उहाँले विभिन्न स्थानबाट धम्कि दिएको गुनासो आफूकहाँ आएको बताउँदै निष्पक्ष रुपमा चुनाव लड्न आग्रह गर्नुभयो ।

 

जिल्लाका अधिकांश नेतालाई आफूले राजनितिमा ल्याएको दाबी गर्दै उहाँले नेता कार्यकर्तामा अग्रजलाई सम्मान गर्ने संस्कार हराउँदै गएको गुनासो गर्नुभयो ।

 

यता नेता विक्रम खनालले भने कंण्डेलको आरोप निराधार रहेको बताउँदै आफ्नो पक्षले कसैलाई नधम्क्याएको रेडियो परासीसँग दाबी गर्नुभयो ।

 

आफूहरु निष्पक्ष चुनावको पक्षमा रहेको बताउँदै खनालले जे मन लाग्यो त्यहि बोल्दै नहिड्न आग्रह गर्नुभयो ।

 

पश्चिम नवलपरासीमा ७ स्थानीय तहमा यहि असोज ९ गते कांग्रेसको पालीका अधिवेशनका लागि चुनाव हुँदैछ । जिल्लामा यसअघि ७४ वडाको अधिवेशन सकिएको छ ।

 

अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएर आएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले रेडियो परासीलाई जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...