दादुरा के हो? कस्ता व्यक्तिहरुलाई दादुरा सर्ने जोखिम बढी हुन्छ?




डा प्रज्वल पुडासैनी – 

 

नेपालमा खोपका प्रभावकारीताका कारण लगभग निर्मुल भैसकेको दादुरा गत हप्ता जाजरकोटमा २ जनामा पुष्टि भएलगत्तै फेरि चर्चाको बिषय बनेको छ। दादुराको खोप नेपाल सरकारबाट निशुल्क प्रदान हुने र यो खोप ९ महिना र १५ महिना गरि २ डोज लगाइन्छ। दुइ डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने देखिएकाले र मृत्युदर रोकिने भएकाले खोप कार्यक्रमलाई सशक्त रुपमा संचालन गरिदै आएको छ।

 




कोभिडको महामारी र लकडाउनका कारण प्रभावित रहेको खोप कार्यक्रमले गर्दा  उन्मुलन हुन लागेका दादुरा जस्ता रोगहरु देखिनु हामी सबैमा चासो र चिन्ताको बिषय बनेको छ। रोग लग्नुभन्दा रोग लाग्नै नदिनु नै उचित हो भन्ने नारालाई आत्मसाथ गर्दै खोप कार्यक्रम अझ प्रभावकारी बनाउनु पनि  हामी सबैको दायित्व बन्दछ।

 

दादुरा के हो र यो कसरी सर्छ? 
दादुरा स्वासप्रस्वासको माधय्म बाट सर्ने र सजिलै फैलिने खालको रोग हो। यो मिजल्स भाइरसले गराउँछ। दादुरा  विकासोन्मुख देशहरुमा पटक पटक देखिने र फोक्सो तथा मस्तिस्कमा संक्रमण गरि ज्यान जोखिममा पार्ने घातक रोग हो।

 

दादुरा भएका व्यक्तिहरुले  दादुराका लक्षण (ज्वरो, डाबर ) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरुलाई रोग सार्न सक्छन्।

कस्ता व्यक्तिहरुलाई दादुरा सर्ने जोखिम बढी हुन्छ?

दादुराको खोप नलगाएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक शक्ति काम भएका (अबुर्द रोगका बिरामी, एड्सका बिरामी र लामो समय स्टेरोइड सेवन गरेका बिरामी), ९ महिना भन्दा कामका शिशुहरु जसमा आमाको गर्भ बाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्वततीहरु दादुरा रोगको बढी जोखिममा हुन्छन्।

 

दादुराका लक्षणहरु के के हुन्?

अरु भाइरल संक्रमण जस्तै दादुरामा पनि शरीरमा डाबरहरु देखिनु अघि ज्वरो आउने, जिउ दुख्ने, रुघा खोकी लाग्ने हुन्छ। त्यस्तै मुखको भित्र निलो र सेतो रंग मिसिएको दाग आउने पनि हुन्छ।

 

छालामा देखिने दादुराका लक्षणहरु के के हुन्? 

ज्वरो आएको ४ देखि ५ दिनमा अनुहारमा र कान पछाडि नचिलाउने खालको रातो दागहरु (डाबर) देखिन्छन्। यस्ता दागहरु मिसिएर अनुहारको पुरै भागमा फैलिने र डाबर आएकै समयमा उच्च ज्वरो आउने गर्दछ। यस्ता दागहरु ३ देखि ४ दिनमा खैरो रंग मा परिवर्तन भइ  हराउने गर्दछन्।

 

दादुराले  ल्याउने  जटिलता के के हुन्?

दादुराले फोक्सोको संक्रमण (निमोनिया), मस्तिस्कको संक्रमण (इन्सेफलाइटिस), मुटुको संक्रमण, कलेजोको संक्रमण (हेपाटाइटिस) , मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने समस्या ल्याई ज्यान जोखिममा पार्दछ।

 

दादुराको उपचार के हो?

दादुराको कुनै पनि उपचार नभएका कारणले खोप लगाई रोगबाट बच्नुनै यसको उचित ओखति हो।

 

सामान्य खालका बिरामीहरुलाई लक्षण अनुसारको उपचार दिन सकिन्छ। जस्तै ज्वरो आएकालाई सिटामोल दिने, खोकी लागेकालाई खोकी नलाग्ने औषधि दिने। विकासोन्मुख देशका बालबालिकालाई भिटामिन ए दिने पनि गरिन्छ।

 

रोग प्रतिरोधात्माक क्षमता कम भएका र मस्तिस्कको जटिल संक्रमण भएकाहरुलाई एन्टी भाइरल औषधि दिन सकिन्छ।

 

दादुरा रोकथाम गर्न के के उपाय गर्न सकिन्छ ?

नेपाल सरकारबाट निशुल्क प्रदान हुने दादुराको खोप ९ महिना र १५ महिना उमेरका बालबालिकालाई २ डोज लगाए यसबाट हुन सक्ने जोखिम निर्मुल पार्न सकिन्छ। यएसको खोपले जीवनभरी रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ। त्यस्तै दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरु लाई रोग सार्न सक्ने भएकाले सो समयमा बिरामी छुट्टै बस्ने र बालबालिका, बृद्ध, दीर्घरोगी र रोग प्रतिरोधात्मक शक्ति काम भएका मनिसहरुसंग घुलमिल नहुनु उचित हुन्छ।



सम्बन्धित
Loading...