एक वर्षभित्र १७ जनाले चार गैँडा मारेको आरोप : गैँडा सिकारमा बाबुछोरा र दाजुभाइ नै संलग्न

भरतपुर । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकारीमा चेपाङ समुदायका बाबुछोरा र दाजुभाइ नै संलग्न हुने गरेको पाइएको छ ।
गैँडा मारी खाग तस्करी गर्ने अपराधमा चेपाङ परिवारमा इष्टमित्रको बढी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले २०७८ साउन ३२ देखि भदौ १० गतेसम्मको अवधिमा चारवटा गैँडा मारेको आरोपमा पक्राउ परेका आठ जनालाई मंगलबार सार्वजनिक गरेको छ । जसमा १४ वर्षको उमेरदेखि नै गैँडाको चोरीसिकारी गर्न थालेका व्यक्तिसमेत छन् ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–१, धारापानी बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु, बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठ, मनहरी गाउँपालिका–४, मसिने टोङ्ग्राङ खोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा र सोही ठाउँ बस्ने ३६ वर्षीय दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजा रहेका छन् ।
त्यसैगरी, मकवानपुर साबिक सरीखेत–९ बस्ने २९ वर्षीय करण मुक्तान भन्ने करण प्रजा, मनहरी गाउँपालिका–४ बस्ने सुरेश प्रजा, सोही ठाउँ बस्ने २७ वर्षीय सरोज मुक्तान र माडी नगरपालिका–७, देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरूङलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
सरोज मुक्तान फोक्सोको गम्भीर खालको रोगको बिरामी भएकाले सम्बन्धित वडाध्यक्षको रोहवरमा भनेको बेला अदालतमा उपस्थित हुने गरी घरमा बस्न दिइएको उनले बताए । मंगलबार १४ वर्षीय करण प्रजाका बुबा बिन्द्रसिंह प्रजालाई कारागारबाट ल्याएर सार्वजनिक गरिएको हो ।
चितवन कालिका नगरपालिका–११, सैपामका बिन्द्रसिंह प्रजाले आफ्ना छोरा करण मुक्तान भनिने करण प्रजालाई १४ वर्षकै उमेरदेखि गैँडा चोरीसिकारीमा संलग्न गराएका हुन् ।
२९ वर्षीय करण प्रजा आजभन्दा १५ वर्षअघिदेखि बुबासँग गैँडाको खाग तस्करीमा संलग्न हुँदै आएका छन् । गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले २०७२ असार ३० गते बाबुछोरालाई नै दोषी ठहर गर्दै जनही १५ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय तोकेको थियो ।
त्यतिबेला गैँडाको चोरीसिकारी मुद्दामा निकुञ्जले नै फैसला गर्ने व्यवस्था थियो । फैसला भइसकेपछि उनीहरुले आफ्नो वास्तविक बासस्थान छाडेर विभिन्न स्थानमा गई लुकीछिपी बस्दै आएका थिए । त्यसक्रममा गैँडाको खाग तस्करीमा उनीहरुको संलग्नता रहँदै आयो ।
फरार प्रतिवादीको सूचीमा रहेका बिन्द्रसिंह प्रजालाई निकुञ्जले जेठ ७ गते तनहुँबाट पक्राउ गरी भरतपुर कारागार पठाएको हो ।
२०७६ कार्तिकदेखि २०७७ असोजसम्मको अवधिमा बिन्द्रसिंहका छोरा करणसहित १७ जनाले पुनः चारवटा गैँडा मारेको निकुञ्जको अनुसन्धानबाट खुलेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
करणले बाबुको नाम अर्कै राखेर मकवानपुरबाट नागरिकता निकालेको पाइएको उनले जानकारी दिए ।
‘करणका बुबालाई हामीले यसअघि नै तनहुँबाट पक्राउ गरी कारागार पठाएका थियौँ’, उनले भने, ‘बाबुको अर्कै नाम राखेर करण विदेश जाने तयारीमा रहेछन् । गएको भदौमा हामीले उनलाई लोथरबाट पक्राउ गरेका हौँ ।’
चारवटा गैंडा मार्नमा संलग्न १७ जनामध्ये ९ जना अझै फरार रहेको उनले बताए । उनका अनुसार निकुञ्जले गत आव २०७७/७८ मा २८ जना र यस आव २०७८/७९ मा १४ जना गरी ४२ जनालाई गैँडा चोरीसिकारी गरेको आरोपमा पक्राउ गरिसकेको छ ।
कोरियाको जागिर छाडेर खाग तस्करीमा
गैँडाकोट नगरपालिका–१, धारापानी बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु कोरियाको जागिर छाडेर गैँडाको खाग तस्करीमा संलग्न भएको पाइएको अनुसन्धान अधिकृत सरोजमणि पौडेलले बताए । पाँच वर्ष कोरिया बसेर नेपाल आएका गोपालले सुरूमा काठको कारोबार गर्न खोजेका थिए ।
कवि भन्ने रामकुमार श्रेष्ठले गोपाललाई खाग बेच्दा लाखौँ रूपैयाँ कमाइ हुने प्रलोभन देखाएर खाग तस्करीमा संलग्न गराएको पाइएको अनुसन्धान अधिकृत पौडेल बताउँछन् ।
‘कोरियामा महिनामा डेढ लाख कमाउँदै आएको गोपाल यहाँ आएर काठको कारोबार गर्न खोजेको तर उसका नजिक बनेका कविले उसलाई खाग तस्करीमा संलग्न गराइएको पाइन्छ’, उनले भने ।
गैँडाको चोरीसिकारीमा एउटै घरपरिवारका दाजुभाइ संलग्न भएको पाइएको छ । सिंहराम, सरोज र जयबहादुर एउटै परिवारका दाजुभाइ भएको उनले बताए ।
सजाय भोगेर अदालतबाट छुटेका मुख्य योजनाकारहरु पुनः गैँडा तस्करीमा लागेको देखिएको उनी बताउँछन् । कतिपय अभियुक्तले अदालतमा पुगेर बयान फेर्दा धरौटीमा पनि छुट्ने गरेको उनको भनाइ छ ।