नवलपरासीमा देउवा इतर गुटको वर्चस्व


 



 

हरि शर्मा –




परासी, ४ मंसिर ः पश्चिम नवलपरासी कांग्रेसमा देउवा इतर गुटको वर्चस्व देखिएको छ ।

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणामले देउवा इतर गुट बलियो देखिएको हो । जिल्लामा २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् ।

 

ति निर्वाचन क्षेत्रका ४ प्रदेश सभा क्षेत्रमा भएको अधिवेशनमा देउवा गुटले १ क्षेत्र मात्र जितेको छ । अन्य सबैमा देउवा इतर गुटले बाजी मारेको छ । उनीहरु सबैले प्यानलै जितेका हुन् ।

 

जिल्लामा देउवा गुटका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ ।

 

 

केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् ।

 

मत परिणामअनुसार निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा देउवा इतरका सभापतिका उमेदवार वेदप्रसाद शर्माले सुरज केसीलाई ७३ मत अन्तरले हराए । प्रदेश सभा ‘ख’ मा देउवा इतरका अनुरेश कलवारले अञ्जु चौधरीलाई १ सय ६ मत अन्तरले हराए ।

 

 

पराजित चौधरी प्रतापपुर गाउँपालिकाकी कार्यवहाक अध्यक्ष हुन् । अध्यक्षको निधनपछि उनलाई कार्यबहाकको जिम्मेवारी दिइएको हो ।

 

त्यसैगरी निर्वाचन क्षेत्र २ ‘क’ मा देउवा इतरका सभापति पदका उमेदवार यामप्रसाद भुषाल (दीपक) ले कृष्ण नारायण श्रेष्ठलाई १२ मतले हराए । प्रदेश सभा ‘ख’ मा देउवा गुटका सभापति उमेदवार रामचन्द्र केवट (चन्दु) ले विनोद पाण्डेलाई १ सय ४३ मतले हराए ।

 

मत परिणामअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भने दुवै गुटले १÷१ वटा क्षेत्र जित्न सकिने देखिएको छ । जसअनुसार क्षेत्र नं. १ मा देउवा इतर गुटले जित्ने देखिएको छ । त्यस क्षेत्रमा सो समुहको १ सय ७९ मत बढी देखिएको छ । त्यस क्षेत्रमा देउवा गुटबाट अशोकजंग राणा र इतर गुटबाट मुकुल आचार्यलाई उमेदवारमा अघि सारिएको छ ।

 

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा देउवा गुटले जित्ने देखिएको छ । त्यस क्षेत्रमा सो गुटको १ सय ३१ मत बढी देखिएको मत परिणामले देखाएको छ । त्यस क्षेत्रमा देउवा गुटबाट माधव पाण्डे र इतर गुटबाट नरेन्द्र कुमार गुप्तालाई उमेदवारमा अघि सारिएको छ । गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन् ।

 

जिल्लामा भने देउवा इतर गुट नै बलियो देखिएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशनको मतले उक्त गुट देउवा गुटभन्दा ४८ मतले अघि देखिएको छ ।

 

 

दुवै गुटले जिल्ला सभापतिको उमेदवारसमेत घोषणा गरिसेका छन् । देउवा गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई सभापतिमा अघि सारिएको छ ।

 

 

 

 

यद्यपी सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान कांग्रेसको विधानमा छ ।

 

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गतेलाई तोकिएको छ । यी सबै निर्वाचनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरु हुन । जिल्लामा कुल १३ सय ३८ जना मतदाता छन् ।

 

 



सम्बन्धित
Loading...