अझै एकसाता मौसम पूर्ण रुपमा नखुल्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान




आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ ।

सोही प्रणालीले मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ।

देशका थोरै ठाउँमा भने वर्षा र हिमपात हुने सम्भावना रहेको छ । तर ठूलो वर्षा वा झरीको सम्भावना भने नरहेको उनको भनाइ छ ।

यसैबीच दिउँसो मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम पनि घटेर चिसो बढेको छ । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्ती अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको बिहीबारको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

बिहीबार जोमसोमको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस, जुम्लाको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस, जिरीको ९ दशमलव ९ डिग्री सेल्सियस लुम्लेको १० डिग्री सेल्सियस, ओखलढुङ्गाको १३ डिग्री सेल्सियस तथा काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो अझै बढ्ने देखिएको छ ।

मौसमविद् शान्ति कँडेलले यात्रा गर्दा सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेकी छन् । चिसो बढेपछि सहरी क्षेत्रका चोकचोकमा आगो तापेको देखिन्छ ।

 

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको छ ।

२०७८ माघ ०७ गते (शुक्रबार)

दिउँसो

देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ ०८ गते (शनिबार)

दिउँसो

देशका पहाडी भू-भागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ माघ ०९ गते (आईतबार)

दिउँसो

देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ भने बांकी पहाड तथा तराईका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।



सम्बन्धित
Loading...