सिरहामा पिताद्वारा आफ्नै छोराको हत्या, विरगञ्जमा किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
सिरहामा एकजना पिताले आफ्नै छोराको हत्या गरेका छन् ।
३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महनागरपालिका-२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती किशोरीलाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।