गण्डकी प्रदेशको लाइभलाइन त्रिवेणी–दुम्किबास सडक बन्ने बाटो खुल्यो, वन मन्त्रालयद्वारा फाइल सदर




चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भएका कारण निर्माणकार्य रोकिएको त्रिवेणी दुम्कीवास सडक खण्डको काम अगाडि बढेको छ ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ यो सडकखण्डको काम अघि बढाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल स्वयम् संघ सरकारका मन्त्रीहरुसँग भेट गरेर अवरोध हटाएका हुन् ।




चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने निधो भएको हो । लामो समयदेखि अड्किएको फाइल सोमबार नै वन तथा वातावरण सचिव पेमनारायण कँडेलले सदर गरेका छन् ।

दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन ।

 

मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको सपना अब साकार हुने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गर्दै भने – ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो काम गर्न सकेन, किन सकेन भने निकुञ्जका कारणले सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रिया सुरु भएको छ, अब वातावरणीय प्रभाव अध्ययनको काम सुरु हुन्छ ।’ सुरुङमार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने उनको भनाइ थियो ।

८ किलोमिटर निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको उनको भनाई छ । यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने बताए ।

यो बाटोको महत्वका बारेमा मुख्यमन्त्री पोखरेलले सोमबार वन मन्त्रालयमै पुगेर मन्त्रीलाई अवगत गराएका थिए । त्यसलगत्तै सचिव कँडेलले फाइल सदर गरेका हुन् । मन्त्री यादवले भने – ‘हामी मुलुकको विकासका लागि अगाडि बढेका छौं, सानातिना समस्यामा अल्झेर हुँदैन, विकासका लागि निकास खोज्न हामी चुक्नु हुँदैन ।’

अब राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले कामको सहमतिका लागि युनेस्कोमा लेखी, सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन गर्ने र वन्यजन्तुमैत्री पूर्वाधार मापदण्ड अनुसार काम गर्ने गरी फाइल सदर गरिएको सचिव पेमनारायण कँडेलले जानकारी दिए । ३ महिनाभित्रमा युनेस्कोबाट सहमति आउने भएकाले त्यसै अनुसार सडक विभागमार्फत् काम अगाडि बढाउनका लागि पहल गर्न मुख्यमन्त्रीसहितको टोलीसँग उनले आग्रह गरे ।

सोमबार नै मुख्यमन्त्रीसहितको टोलीसँग कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको भेटवार्ता भएको छ । तनहुँको दमौलीमा निर्माण हुन लागेको गोवद्र्धन शर्मा आँखा उपचार तथा अनुसन्धान केन्द्रका लागि जग्गा व्यवस्थानका बारेमा उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जानकारी गराउनुभएको थियो ।

मन्त्री यादवले अहिले जग्गा प्राप्तिका लागि झन्झटिलो प्रक्रिया भए पनि अस्पतालको संवेदनशीलता हेरेर व्यवस्थापन गर्ने आश्वासन दिए । उनले लिज प्रक्रियाबाट भए पनि जग्गा व्यवस्थापन गर्ने र मंगलबार नै यसको प्रक्रिया अगाडि बढाउन सचिवालयलाई निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले सोमबारै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठसँग पनि भेट गरेर प्रदेश गौरवका आयोजनाका लागि जग्गा प्राप्ति प्रक्रिया निकै झन्झटिलो भएका कारण निकासका लागि मन्त्री श्रेष्ठसँग आग्रह गरे। यसका अतिरिक्त सबै जिल्लाहरुमा भूमि आयोग गठनका लागि समेत मुख्यमन्त्रीले ध्यानाकर्षण गराएका छन् ।

 

मन्त्री श्रेष्ठले विगतमा दिनमा जेजस्तो भए पनि अब ती सबै गाँठोहरु फुकाएर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रहीत र जनहीतमा ल्याइएका विषयलाई रोक्ने कुरै हुँदैन, विषयवस्तुको गम्भीरतालाई हेरेर प्रक्रिया अगाडि बढाउन लगाउँछु ।’ ३ तहकै सकारले जग्गााको स्वामित्व खोज्नु व्यावहारिक नहुने भन्दै जग्गाको स्वामित्व केन्द्र भागमा राखेर भोगाधिकार दिन सकिने उनको भनाई थियो ।

मुख्यमन्त्री पोखरेलले सोमबारै नेपाली कांंग्रेसका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री डा. शशांक कोइरालासँग भेटघाट समेत गरेका छन् ।

बजेटको अभावका कारण आयोजना अलपत्र पर्ने अवस्था आएका कारण मुख्यमन्त्रीसहितको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको ध्यानाकर्षण गराएका थिए ।



सम्बन्धित
Loading...