मिनवा मेनपावरमा छापा, बढी शुल्क असुल्ने तीन जना पक्राउ


 



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि सञ्चालन भएको ‘कल सेन्टर’ मा एक मेनपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले छापा मारेको छ ।

काठमाडौंको सिनामंगलस्थित मिनवा मेनपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित तीनजनालाई नियन्त्रणमा लिएको हो।




वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा मेनपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ केन्द्रीय अनुसन्धान व्युरोमा लगिएको ‘मार्सल टोली’ का संयोजक बिष्णु लामिछानेले बताए।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल छापा मारिने लामिछानेले बताए ।

आइतबार ‘कल सेन्टर’ सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए ।

मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गरेका थिए ।

वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने मन्त्री श्रेष्ठले बताए।



सम्बन्धित
Loading...