असई हुँ भन्दै चेकिङ छल्न खोज्ने पक्राउ, मोटरसाइकल चोरी गर्ने पक्राउ
प्रहरी चेकिङका क्रममा आफू प्रहरी सहायक निरीक्षक हुँ भनी उम्किन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको भद्रकालीमा सवारी जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षक(असई) हुँ चेक नगर्नू भनी धम्की दिने सूर्यविनायक-८ भक्तपुरका सोनाम तामाङ पक्राउ परेका हुन् ।
मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीय महम्मद अली पक्राउ परेका हुन् ।
मंगलबार राति १०ः२५ बजे वीरगञ्ज महानगरपालिका-१५ भिस्वा चोकबाट अलीले मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । बाराको फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेशप्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको ठाउँबाट हराएको थियो ।

लक तोडेर मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिस्वाडाडाँबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
प्रहरीका अनुसार उनी विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला छ ।


