सुनवल र बर्दघाट नगरपालिकाको आफ्नै पाठ्यक्रम




परासी — पश्चिम नवलपरासीका सुनवल र बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन गर्न सुरु गरेका छन् ।

स्थानीय पहिरन, भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदाको विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारिएको छ । जसमा आफ्नो स्थानीय तहको विशेषता, अक्षांश र देशान्तर रेखासहितको प्राविधिक पक्ष समेटिएको छ ।




सुनवल नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि ‘हाम्रो सुनवल’ नामक पुस्तक तयार पारेको छ । नगरभित्रका सामुदायिक र निजी विद्यालयमा यो पुस्तक अनिवार्य गरिएको छ । विज्ञसहितको समूहले एक वर्षसम्म अध्ययन अनुसन्धान गरेर पुस्तक तयार पारेको हो ।

जसमा नगरभित्रका धार्मिक–सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदा, कृषिदेखि आधुनिक संरचनाका विषय समेटिएको छ ।

सुनवल नामकरणको अवस्थादेखि जातजाति र खानपानसम्मको जानकारी यसमा समेटिएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए ।

‘संघीयताको असल अभ्यासअन्तर्गत यो पाठ्यपुस्तक तयार पारिएको हो,’ उनले भने, ‘आफ्नो गाउँठाउँ यसमा समेटिएको छ ।’

स्थानीय पाठ्यपुस्तकले धर्म–संस्कृतिलाई सम्मान गर्ने बानीको विकास हुने महाकवि देवकोटा माध्यमिक विद्यालयका सञ्चालक समिति अध्यक्ष ज्ञानहरि अर्यालले बताए ।

‘सुनवल नगरपालिकामा वर्षौंसम्म अध्ययन गर्ने अनि कसैले आफ्नै स्थानको विषयमा सोध्यो भने पुस्तकमा छैन भन्दै विद्यार्थी लज्जाबोध गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आफ्नै घर र स्थानको अक्षांश र देशान्तरबारे उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई थाहा छैन ।

प्रयोगात्मक र आफ्नो स्थान र परम्पराको जगेर्ना गर्न यो पुस्तक फलदायी हुनेछ ।’

बर्दघाट नगरपालिकाको पनि आफ्नै पाठ्य पुस्तक तयार भएको छ । बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालका अनुसार पुस्तक तयार भएको छ ।

बर्दघाट नगरपालिकाले यस शैक्षिक सत्रबाट कक्षा, १, २, ३ र ६ मा बर्दघाट सेरोफेरो नामक आफ्नै पाठ्यक्रम विद्यालयमा लागुगरेको छ भने अर्को बर्ष ४, ५, ७ र कक्षा ८ मा लागु हुने गरे तयारी गरिएको नगर प्रमुख शर्माले बताए ।

बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र कुवँरका अनुसार पाठ्यपुस्तक यसै शैक्षिक सत्रबाट लागुभए पनि पुस्तकको अन्तिम रुप दिन विहीबार बर्दघाट नगरपालिकाले नगरपालिकाका शिक्षा क्षेत्रका विज्ञहरुसँग छलफल गरेको छ । कुँवरले भने – पाठ्यक्रमलाई विज्ञहरुले अन्तिम रुप दिएर हामीले उपलब्ध गराउनु हुनेछ ।

 

 

 



सम्बन्धित
Loading...