पशुपतिमा अर्को ताण्डप नृत्य, मूल भट्टका लागि किनेको गाडीको रोचक कथा

फेक दुर्घटना गराएर लाखौं असुली




पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् ।

सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा ५ च २०९२ नम्बरको मारुती स्टिम गाडीको ‘फेक एक्सिडेन्ट’ बनाएर सात लाख ८० हजार भुक्तानी गरिएको छ ।




अझै ६ लाख ९० हजार तिर्न बाँकी रहेको भन्दै आठ वर्षदेखि गाडी ज्ञानेश्वरस्थित पपुलर वर्कसपमा थन्क्याइएको छ ।राष्ट्रिय सतर्कता केन्द्रले ‘फेक दुर्घटना’ भन्दै प्रतिवेदन तयार गरेको यो गाडीको खास कथा ३० जेठ ०६२ बाट सुरु हुन्छ ।

यही दिन कोषले पशुपतिका मूल भट्टका लागि भन्दै भन्सार छुटमार्फत सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा गाडी खरिद गरेको थियो, तर मूल भट्टले चढ्न पाएनन् । कोषका तत्कालीन सदस्यसचिव वसन्त चौधरीले चढे ।

चौधरीपछिका सदस्यसचिव सुशील नहाटाले प्रयोग गरिरहेका वेला १६ फागुन ०६७ मा गाडी दुर्घटनामा पर्‍यो । शिवरात्रि पर्व मेला व्यवस्थापनमा खटिएका कर्मचारीलाई घर पुर्‍याउने क्रममा राति भक्तपुरको मनोहरा पुलनजिक बा २ ख २०१ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गाडी दुर्घटनाग्रस्त भएको थियो ।

त्यतिवेला नहाटा भने गाडीमा थिएनन् । कोषले सञ्चालक परिषद्मा पेस गरेको विवरणअनुसार गाडी कृष्णबहादुर डंगोलले चलाएको र प्रशासकीय अधिकृतहरू मुकुन्दप्रसाद पाण्डे, गौरीशंकर पराजुली र मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानालाई कौशलटार पुर्‍याउन जाँदा मनोहरा पुलनजिक मिनीट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनापछि गाडी मर्मतको नाममा आर्थिक चलखेल सुरु भयो । मर्मत गर्न आधिकारिक डिलरमा लैजाँदा आठ लाख ३४ हजार लागत अनुमान गरिएकोमा सदस्यसचिव नहाटाको आदेशमा १२ लाख २५ हजार ६ सय ७२ रुपैयाँ स्टिमेट गरी ज्ञानेश्वरको पपुलर अटो वर्कसप पठाइयो ।

पहिलो त गाडी मर्मतका लागि आधिकारिक डिलरमै लैजानुपर्थ्यो, विकल्पमा निजी वर्कसपमा लगे पनि प्रक्रिया पूरा गर्नुपर्थ्यो ।

अटो प्राविधिकमार्फत अनुमानित खर्च निकाल्न लगाएर प्रतिस्पर्धाबाट मर्मत प्रक्रियामा लैजानुपर्थ्यो । तर, नहाटाले तजबिजमा धेरै खर्च स्टिमेट गरेर चिनजानकै वर्कसपमा पठाए ।

 



सम्बन्धित
Loading...