शिवराजमा १० टाेल एकैपटक खानेपानी युक्त घाेषणा




राम अवतार चाैधरी – 
कपिलवस्तु,

कपिलवस्तुको शिवराज नगरपालिकाका दश वटा टाेल खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । नगरका वडा नं.१ र ३ का दश वटा टाेल एकैसाथ खानेपानी युक्त घाेषणा गरिएको नगरपालिकाले जनाएकाे छ ।




जसमध्ये वडा नम्बर १ का शिवपुर, उमरी, नयाँबस्ती, कलाैनी, चैनपुर, साेनपुर र भलुही रहेकाे छ । त्यसैगरी वडा नम्बर ३ का धनगडवा, कर्मडिह र हाेंचवा गरी दश वटा टाेल चन्द्राैटामा शुक्रबार एक कार्यक्रमका बीच खानेपानी युक्त घाेषणा गरिएको बताइएको छ ।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले खानेपानीयुक्त समुदाय घोषणा गर्दै यस क्षेत्रका वासिन्दाहरुको सरसफाई र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको जानकारी दिए ।

अधिकारीले युनिसेफ नेपालको आर्थिक सहयोग तथा उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रम प्रभाकारी रहेको जनाउँदै यसलाई पालिकाले निरन्तरता दिनुपर्ने बताए । शिवराज नगरपालिकाको पहलमा प्रदेश सरकारको तर्फबाट नगरकाे धेरै वडाहरुमा स्वच्छ खानेपानीका लागि खानेपानी योजना अगाडी बढाइएको उनले जिकिर गरे ।

यसैबीच नगर उपप्रमुख शिवकुमारी थारुले सुरक्षित खानेपानी समुदायलाई दिगो थप दिगाे बनाइ राख्न नगर प्रतिबद्ध रहेकाे उल्लेख गरिन् ।

विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष असुरक्षित खानेपानी सरसफाई तथा फोहोर छोएपछि हात नधुने आनिबानीको कारण झाडापखालाबाट विश्वमा ३ लाख ६१ हजार बालबालिकासहित ८ लाख ४२ हजार जनाको मृत्यु हुने गरेको थारुले जनाइन् ।

शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख तथा नगर उपसचिव लोकराज पन्थीले समुदायमा सुरक्षित खानेपानी तथा सरसफाईको सुविधा उपलब्ध भए पोषण अवस्था र विद्यालयमा उपस्थिति दरमा सुधार हुने बताए ।

त्यसैगरी वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले सफा पानीको अभावका कारण दुषित पानीको प्रयोगले झाडापखाला आउँ, हैंजा, टाइफाइड जस्ता रोगकाे संक्रमण हुन सक्ने जाेखिम भएकाले आफ्नाे वडामा खानेपानीको व्यवस्थापन सहित खानेपानीयुक्त समुदाय घोषणा गरिएको जनाए ।

शिवराज नगरपालिका अन्तर्गत २ हजार २ सय ६१ घरधुरी सुरक्षित खानेपानी युक्त समुदायभित्र पर्न सफल भएका छन् ।

नगरभित्र ७२ जना खानेपानी टेस्टिङ्ग गर्न सक्ने क्षमतायुक्त स्वयम्सेवक समेत तयार गरिएको साथै खानेपानी युक्त घाेषणा नभएका क्षेत्रलाई छिट्टै नै घाेषणा गर्ने समेत जनाइएको छ । नेपाल सरकारले सुरक्षित खानेपानीको पहुँचलाई सन् २०३० सम्ममा सम्पूर्ण जनसंख्यालाई सुरक्षित सेवा पुर्याउन ‘एक घर एक धारा’ को नीति समेत लिएकाे छ ।

 

 



सम्बन्धित
Loading...