आन्तरिक पर्यटककाे गन्तव्य बन्दै शंकरपुर ताल
घनश्याम भर, कपिलवस्तु ।
मानिस एक अध्ययनशील प्राणी हाे । नयाँ-नयाँ ठाउँमा घुमफिर गर्दै नाैला कुराहरू हेर्ने र सिक्ने प्रयत्न गरिरहेकाे हुन्छन् । सिक्ने चिजकाे खाेज, अनुसन्धान र अवलाेकन गर्न पनि चाहन्छन्। उनकाे मनमा उत्कृष्ट लागेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक स्थल भएकाे ठाउँमा भ्रमण गर्न जान्छन् । यस्तै मानिस दिनहुँ आ-आफ्नो कार्यमा व्यस्त हुन्छन् । बिहानदेखि साँझ अबेरसम्म काम गर्छन् । यस दाैरानमा मानिसलाई शारीरिक भन्दा पनि मानसिक रूपमा बढी थकाइ लाग्छ । यसरी महिनाैँ दिनसम्म काम गरिरहँदा उसलाई दिक्क लाग्छ । ऊ यस बेला अनावश्यक कुराहरू मनभित्र खेलाउन थाल्छ ।
उसलाई मानसिक तनाव बढ्दै जान्छ त्यति बेला शान्त, सफासुग्घर, मनाेरम र एकान्त वातावरण मन पराउँछ । मनाेरञ्जन गर्न र आफ्नो दिक्दारीपन केही समय भुल्न र आनन्दपुर्वक समय बिताउनका लागि प्राकृतिक, धार्मिक ऐतिहासिक महत्त्वकाे रूपमा रहेका स्थलमा जाने याेजना बनाउँछ । जस्तै मठ मन्दिर, नदीनाला, तालपाेखरी लगायत ठाउँमा घुमफिर गर्नुकाे साथै अवलाेकनसमेत गर्दछन् । यसका लागि मानिस टाढा-टाढाका ठाउँमा संघसंस्थाका कर्मचारीदेखि लिएर एउटा घरकाे सपरिवारसहित नै भ्रमणमा जान्छन् । विभिन्न सरकारी र गैरसरकारी संघ संस्थाहरूले त भ्रमण, अवलोकनका लागि वर्षेनी बजेट विनियोजनसमेत गरेका हुन्छन् ।
यसरी भ्रमण वा अवलोकनका लागि हजारौँ रूपैयाँ खर्चेर टाढा- टाढाका ठाउँमा हप्तौँ दिनसम्म गएर बिताउने पनि गर्छन् । पर्यटकीय क्षेत्रकाे संरक्षण र उचित व्यवस्थापन नहुँदा आन्तरिक र बाह्य पर्यटक आकर्षण बढेकाे देखिदैन । यसरी विभिन्न ठाउँमा प्राकृतिक र धार्मिक स्थलकाे संरक्षण नहुँदा ओेझेलमा पर्दै गएका छन् । यसलाई स्थानीय तथा सम्बन्धित निकायले सरकारी स्वामित्व भएका सम्पत्तिको संरक्षणमा ध्यान नदिँदा ओेेझेलमा परेका हुन् । यस गर्दा सरकारकाे एक आर्थिक सबलताकाे महत्त्वपूर्ण पाटाेमा ह्रास हुँदै गएकाे छ । पर्यटकीय क्षेत्रका रूपमा रहेका प्राकृतिक र धार्मिक स्थलले प्रचुर सम्भावना बाेकेका स्थललाई संरक्षण गर्नु सरकारकाे महत्त्वपूर्ण जिम्मेवारी हाे । तर विविध कारणले विभिन्न पर्यटकीय क्षेत्रहरूकाे संरक्षण हुन सकेको छैन ।
यस्तै एक प्राकृतिक महत्वकाे पर्यटकीय क्षेत्रकाे प्रचुर सम्भावना बाेकेकाे कपिलवस्तुकाे शंकरपुर ताल पनि हाे । जिल्लाको विजयनगर गाउँपालिकाकाे वडा नं. ४ मा शंकरपुर ताल पर्दछ । यस क्षेत्रको सबैभन्दा धेरै महत्व बोकेको ताल हो । तर सम्बन्धित निकायले तालको प्रचार-प्रसारकाे कमीले पर्यटकीय क्षेत्रकाे रूपमा विकास हुन सकेकाे छैन । याे क्षेत्र आदिबासी थारु, मधेशीको ऐतिहासिक, साँस्कृतिक, समाजिक, कृषि तथा आर्थिक पक्षसँग जोडिएकाे छ । तालको क्षेत्रफल करिब ५० विगहामा फैलिएको छ । यो ताल पहिले धेरै ठुलो क्षेत्रफलमा रहेको स्थानीयबासी बताउँछन् । जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचर, थलचरका जीवहरुको बसोबास छ ।
यो एक प्राकृतिक सिमसार, धार्मिक क्षेत्रको ठुलो ताल हो । याे जिल्लाकाे शिवराज नगरपालिका चन्द्राैटा र पुर्वपश्चिम राजमार्ग देखि करिब ७,८ किलो मिटर पश्चिमा अवस्थित छ । स्थानीय पुर्वजका भनाई अनुसार पुस्ताैँ देखि यो यस्तै तालको रुपमा अवस्थित छ । जैविक विविधता मध्ये शंकरपुर तालमा सबैभन्दा बढी प्रजातिका स्थानीय (रैथाने) माछाहरु पाइन्छन् । यस शंकरपुर सिमसार क्षेत्रमा स्थानीय जातका चरा, किरा, भ्यागुता, सर्प र कछुवा, विभिन्न २२,२३ जातका स्थानीय जलीय वनस्पतीसमेत पाईन्छन् । शंकरपुर तालमा पाईने मुख्य चराहरु जलेवा, पानीहाँस, बकुल्ला छन् । यसरी शंकरपुर ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ ।
स्थानीयले जानकारी दिए अनुसार परापुर्वकालमा यस क्षेत्रमा देवीको आश्रय स्थलसमेत रहेको थियो । देवीदेवतालाई जम्मा गरेर ताल खन्न लगाएकी थिइन् । गर्मी हुने हुँदा नुहाउनका लागि देवीको लागि ताल खनिएको स्थानीयकाे भनाइ छ । तालमा आसपास, छरछिमेकका स्थानीयबासीले माछा मार्न, सागपात टिप्न आउने गर्दछन् । वर्षातको समय बाहेक तालमा ५० प्रतिशत पानी हुन्छ । तालमा माछापालन व्यवासाय गरेर स्थानीयबासीले मनग्य आम्दानी गर्दै आएका छन् । पालिकाले माछा व्यवसायीलाई ताल ठेक्कामा दिएर माछापालन गर्दै आएका छन् । तालको प्रचार-प्रसार नहुँदा बाह्य पर्यटकहरुकाे आकर्षणमा कमी देखिएकाे छ ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले हाल तालकाे तटबन्धकाे निर्माणकाे काम गरिएकाे बताए । यस्तै पालिकाले पर्यटकहरूकाे लागि प्रतिक्षालय, शाैचालय, पिकनिक स्पाेर्टस् र धाराकाे उचित व्यवस्थापनसमेत गरिएको उनले जनाए । उनले पालिकाले केही उचित व्यवस्थापन गरेपछि आन्तरिक पर्यटकहरूकाे संख्यामा बृद्धि हुँदै गएकाे भनाइ छ । तालमा पर्यटकलाई आकर्षण पार्नका लागि डुङ्गा र र्याफटिङ सञ्चालनकाे याेजनासमेत रहेकाे अध्यक्ष थापाले बताए । उनले विजयनगरकाे सबैभन्दा ठुलाे र रमणीय स्थल शंकरपुर ताल भएकाे बताउँदै पालिकाकै गाैरव ताल भएकाे बताए । पर्यटन क्षेत्र बनाउनुकाे साथै कृषि खेतीका लागि गड्डाघाटबाट तालमा जलाशय निर्माण गरी सिँचाईकाे याेजनासमेतलाई प्राथमिकतामा राखेकाे उनले बताए । यस तालमा छिमेकी पालिका शिवराज, कृष्णनगर र महाराजगन्ज नगरपालिका लगायत ठाउँका नागरिक अवलोकन गर्ने आउने गरेका छन् ।
आसपासका गाउँका युवायुवतीहरुको पिकनिक स्पोटस् बन्न मात्र सफल यस ताललाई पर्यटकीय क्षेत्रकाे रूपमा बनाउन सकिए धेरै आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउनुकाे साथै आर्थिक आर्जनको बलियो पाटाे बनाउन सकिन्छ । तर ‘नजिकको तीर्थ हेला’ भने झैँ सम्बन्धित निकायले तालको प्रचार-प्रसारका लागि प्रभावकारी पहल गरिएकाे पाइदैन ।