विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु, दुर्घटनामा मोटरसाइकल चालकको निधन

ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ ।
पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङलिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् ।
लिम्बू सदरमुकाम फुङलिङ बजारको वीरेन्द्र चोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए । गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाकालअनुसार उपचारका लागि तत्काल अस्पताल पुर्याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुरको हेटौँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार दिउँसो वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा–१ चाइना क्वाटर निवासी ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक दासले बताए ।
ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेछ भने बसका चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।