नवलपरासीः विजय चौधरी हत्याको आरोपमा दम्पती सहित ६ जना पक्राउ

२० लाख रुपैयाँ लुटपाट गर्न साथीबाटै चौधरीको हत्या




रामकुमार श्रेष्ठ –

गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।




कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका वडा नं. १ उच्डीहवा नागरिकतामा ठेगाना रहेको र हाल काठमाडौं महानगरपालिका वडा नं. २७, असनमा भाडा वर्तन एवम् हार्डवयर व्यवसाय गर्ने ३५ बर्षीय विजय चौधरीको हत्या भएको थियो ।

चौधरीको हत्यामा रामग्राम नगरपालिका ५ ड्राइभर टोल बस्ने ३७ बर्षीया राजु साह भनिने मञ्जुर आलम देवान र उनीकी श्रीमती ३५ बर्षीया हदिसुन नेसालाई प्रहरीले पक्राउ गरेको हो ।

 

चौधरीको हत्या गरी शवलाई सडक किनारामा लगी फालिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विजयको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले विजयको हत्या गरिएको थियो ।

 

मृतक विजय चौधरी र घटना स्थलमा बरामद शब

हत्या लगतै मुख्य योजनाकार मञ्जुर आलम देवान र उनीकी श्रीमती हदिसुन नेसा भारत फरार भएका थिए ।
उनीहरुलाई पश्चिम नवलपरासी प्रहरीले भारतीय प्रहरीको समन्वयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेषपुर नेपाल भारत सीमा नजिकैबाट २५ माघ मंगलबारका दिन पक्राउ गरेको थियो ।
पक्राउ परेको ६ जनालाई नै प्रहरीले विहीबार सार्वजनिक गरेको छ ।

 

पक्राउ पर्नेमा आलम देवान, उनीकी श्रीमती हदिसुन नेसा, देवानकी दिदी रामग्राम नगरपालिका २ निवासी ४२ बर्षीया सारदादेवी केवट, भेनाजु बसन्तकुमार सहानी, तलत अलि खान र जितबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

घटनाका मुख्य योजनाकार आलम देवान र उनकी श्रीमती हदिसुन नेसा रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
मृतकको शव घटना स्थलमा दुवै हात पछाडिबाट प्लाष्टिकको डोरीले कसेर बाँधिएको, अनुहार गम्छाले बेरिएको र गलबन्धीले घाँटीमा गाँठो बनाइ कसिएको अवस्थामा फेला परेको थियो ।

‘जग्गा’को कारोबार गर्न भन्दै माघ ६ गते भैरहवा पुगेका चौधरी माघ ७ गते साँझदेखि हराइरहेका थिए । चौधरीको साथमा २० लाख नगद रहेको र उक्त रकम चौधरीले आफ्ना साथीहरूलाई समेत देखाएका थिए । चौधरीकै साथी रहेका राजु साह भन्ने आलमले आफ्नै घरमा बोलाएर श्रीमतीको सहयोगमा चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

हत्याका मुख्य योजनाकार राजु साह भनिने मञ्जुर आलम देवान

हत्या लगत्तै आफन्त दिदी भेनाजुलाई रकम राख्न दिई आलम दम्पती भारत पुगेका थिए ।
नवलपरासी प्रहरीले सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको भने पनि प्रहरी टोली भारत नै पुगेर उनीहरूलाई पक्राउ गरी नेपाल ल्याइएको हो । पक्राउ परेका आलमले हत्यामा आफू र श्रीमतीको हात रहेको बयान दिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

प्रहरी स्रोतका अनुसार आलमले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले हात बाँधेर खुट्टा समाएको र श्रीमतीले घाँटी कसेर चौधरीको हत्या गरेको बयान दिएका छन् । आलम दम्पती ऋणमा डुबेको, ऋण तिर्न नसकेको कारण चौधरीसँग रहेको २० लाख रुपैयाँ लिन हत्या गरेको खुल्न आएको शाहीले बताए ।

उनीहरूलाई पक्राउ गर्नका लागि नवलपरासी प्रहरीबाट डिएसपीको टोली भारत पुगेको थियो । त्यसै गरी प्रहरी हेडक्वार्टरले समेत काठमाडौँबाट एक डिएसपीलाई भारत पठाएको पाइएको छ । दुई डिएसपीसहितको प्रहरी टोलीले बुधबार बिहान ५ बजे दुवै जनालाई पक्राउ गरी नेपाल ल्याएको हो ।

 

यस्तो छ घटनाको विस्तृत विवरण

 

 

पत्रकार सम्मेलनमा हत्या आरोपीहरु सार्वजनिक गर्दै । तस्वीरः रामकरण हरिजन

 

 

 

पत्रकार सम्मेलनमा हत्या आरोपीहरु सार्वजनिक गर्दै । तस्वीरः रामकरण हरिजन

 

 



सम्बन्धित
Loading...