विप्लव नेतृत्वको नेकपाद्वारा वडाध्यक्षमाथि मोसो

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कञ्चनपुरका कार्यकर्ताले बेलडाँडी गाँउपालिका– २ का वडाध्यक्ष प्रेम खातीमाथि मोसो दलेका छन् ।
बिहीबार दिउँसो नेकपाका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका हुन । उनीहरूले भ्रष्टाचारको आरोपमा वडाध्यक्ष खातीमाथि मोसो दलेका हुन् । युवा संगठन कञ्चनपुरले अध्यक्ष विकल्पद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत वडाध्यक्ष खातीमाथि गरिएको ‘जनकारबाही’को जिम्मेवारी लिएको छ ।
उक्त विज्ञप्तिमा वडा भवनको भाडा, कर्मचारी मनोमानी राखेको, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा अनुपस्थित भएको, बसपार्कका लागि भनि ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समितिमा पनि मनोमानी तरिकाले आफ्नो अनुकुल काम गरेको, साझौता र साना किसान लघुवित्तिलाई जमिन सहित १५ लाख दिने निर्णय गरि अनियमिता गरेको आरोपमा जनकारबाही गरेको आरोप लगाइएको छ ।
खाति नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनले आफ्नो कुनैपनि विप्लव नेता कार्यकर्तासंग सम्बन्ध नबिग्रीएको र सामान्य विवादसमेत नभएको बताउँदै आफूमाथि मोसोदल्ने कामबाट दुखित भएको बताए ।
उनले भने, ‘साथिहरुले ममाथि आरोप लगाएका छन् । मैले गल्ती गरेको छैन । गल्ती गरेकै भए कानुन अनुसार सजाय भोग्छु ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले वडाध्यक्षमाथि मोसो दल्ने समुहको खोजि भईरहेको बताए ।
‘मास्क लगाएर कार्यालय आएकाले पहिचानमा समस्या भयो, उनले भने, ‘टोली खटिएको छ, मोसो दल्नेलाई पक्राउ गछौँ ।’