तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुने

पाल्पा । तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेभीर क्षेत्रको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १३ गतेसम्म सडक बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै हरेक दिन बेलुका ९ बजेदेखि बिहान साढे तीन बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको जनाएको छ ।
माघ २८ गतेदेखि फागुन १३ गतेसम्मका लागि दैनिक साढे छ घण्टाका दरले १५ दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा उल्लेख छ ।
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३ वर्षीय रविन दमैको मृत्यु भएको हो ।
मोटरसाइकल आफैं अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्न पुग्दा दमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वी रुकुमको भुमे गाउँपालिका–४ स्थायी घर भएका मृतक दमै रम्भा गाउँपालिका पाल्पामा भूकम्प प्रभावित क्षेत्र हेर्ने इञ्जिनियरका रुपमा कार्यरत रहेको बुझिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।