नवलपुर सहित १६ जिल्लामा कांग्रेस अधिवेशन फागुन १३ गते हुने

नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी नवलपुर सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

सभापति देउवा संकिर्णता त्यागेर पार्टी सञ्चालनमा लाग्नुपर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई संकिर्णता त्यागेर पार्टी सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
पार्टी कार्यसम्पादन समितिको बैठकमा पाँच बुँदे प्रस्ताव राख्दै नेता कोइरालाले विना भेदभाव पार्टी सञ्चालन गर्न, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिन माग गर्नुभएको हो ।
यसैगरी, उहाँले अरु दलसँग चुनावी गठबन्धन नगर्न, एमसीसी अनुमोदन गर्न र क्रियाशील सदस्यता वितरण अहिलेदेखि नै सुरु गर्न प्रस्ताव राख्नुभएको हो ।
देशकै नेतृत्व गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्व संकिर्णता र गुटमा आधारित हुँदा त्यसले सिंगो पार्टीलाई कमजोर बनाउने उहाँले प्रष्ट गर्नुभएको छ । घर भित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टिभन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प नभएको भन्दै कोइरालाले केन्द्रीय समितिमा मनोनयन र केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा सभापतिले न्याय र विवेक अपनाउन नसकेको पनि उल्लेख गर्नुभएको छ ।
देशकै नेतृत्व गर्ने पार्टीले गुट र भागबण्डामा रमाउँदा त्यसले पार्टी र लोकतन्त्रलाई नै कमजोर पार्ने कोइरालाको निष्कर्ष छ ।