मन्त्री आलेको कठोर अभिव्यक्ति अतिक्रमित सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि पदमा बस्दिन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने कठोर अभिव्यक्ति दिएका हुन् ।
राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनू आफ्नो कर्तव्य भएको उनले बताए । विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए ।
पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे । मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने पनि चेतावनी दिए ।
नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए । आफूले राम्रो काम गरिरहे पनि केही मिडियाहरू भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे ।
उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए ।
मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून भएर शीर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उनले निर्देशन दिए ।