चोरको नयाँ तरिका: दिनभर चल्ला बेच्ने, रातभर डाका डाल्ने




दिनभर चल्ला बेच्ने रातीमा डाकाचोरीमा संलग्न भारतीयको पर्दाफास भएको छ । भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे।

चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने हेक्का गर्ने समेत गर्दथे । मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए।

 




कुखुराका चल्ला बेच्ने बाहनामा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ। उनीहरु बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहित ठूलो धनसम्पत्तिसमेत लुट्न सफल भएका थिए।

 

उनीहरु मनिहार साथीसँगै बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेको कब्जामा परे। गाउँले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुको चोरी–डकैती गर्ने तरिका पर्दाफास भएको हो।

 

मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका– ८ शितलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुट्न सफल भएका थिए ।

माघ १७ गते बाँकेको खजुरा गाउँपालिका– ४ डीगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो। माघ २९ गते जानकी गाउँपालिका– ५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रुपैडिहाका निजामुद्दिन कवडिया गाउँलेको कब्जामा परे।

 

मनिहारका अनुसार रुपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन्। यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०-११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो।

 

बाँके प्रहरी घटनामा संलग्न अरु भारतीयलाई पक्राउ गर्ने प्रयासमा छ । बर्दियामा डकैटी गर्दा ६ जना थिए भने खजुरामा चार जना आएका थिए। यी ६ जना पेशेवर डाँका रहेको प्रहरीले बताएको छ।  दिनभरि चल्ला बिक्री गर्दै घरघरमा पुगेर रेक्की गर्ने र राति साथीहरु ल्याएर डकैती गर्ने गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।

 

उनले सबै पेशेवर डाँकालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए। यो डाँका टोलीसँग कटुवा पेस्तोल रहेको छ। पेस्तोलको कारोबारसमेत गर्ने बुझिएको छ।

 

डाका चोरी टोलीका अकिल साई भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ रहेको मनिहार बताउँछन्। मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्धामा लागेका हुन्। भारतमा उनीविरुद्ध आठ वटा मुद्दा रहेको प्रहरीको भनाई छ ।

 



सम्बन्धित
Loading...