वर्षदिनमै ७० रुपैयाँ महँगियो खाने तेल




पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत वर्ष मंसिर महिनामा प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको छ । सोही अवधिमा प्रतिलिटर २ सय ७० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य बढेर ३ सय रुपैयाँ पुगेको छ ।




एक वर्षअघि २ सय १० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर २ सय ५० पुगेको छ । यस्तै प्रतिलिटर दुई सय रुपैयाँ रहेको भटमासको तेल बढेर २ सय ४० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण देखाउँदै व्यवसायीले खाने तेलमा अस्वाभाविक मूल्य बढाएका हुन् ।

लगातार मूल्य बढ्दा त्यसको असर उपभोक्तलाई परेको छ । यसैबीच पछिल्लो महिनामा बजारमा व्यवसायीहरुले आफूखुसी सबै प्रकारका खाने तेलको मूल्य बढाएका छन् । यस अवधिमा तोरी, भटमास र सूर्यमुखी गरी तीनै प्रकारका तेलको मूल्य बढाएका हुन् ।

संघका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्य लिटरमा १० रुपैयाँले बढेको छ भने तोरीको तेलको मूल्य लिटरमा दुईदेखि तीन रुपैयाँले वृद्धि भएको छ । नयाँ मूल्यवृद्धि पछि भटमासको तेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य २ सय ४० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य लिटरमा २ सय ६० र तोरीको तेलको मूल्य ३ सय ५० रुपैयाँ पुगेको संघको तथ्यांक छ । होलसेल मूल्य बढेर आएको भन्दै खुद्रा व्यवसायीले मूल्य बढाएका हुन् । होलसेल मूल्य बढेर आएको भन्दै खुद्रा व्यवसायीले मनपरि ढंगले मूल्य निर्धारण गर्दा त्यसको मार उपभोक्तालाई पर्न गएको छ ।

बजारमा होलसेलले पठाइएको तेलमा प्रिन्ट मूल्य (खुद्रा बिक्री मूल्य) नै उद्योगीले बढाएका छन् । जसमा २ सय २० रुपैयाँको भटमासको तेलको खुद्रा बिक्री मूल्य ट्याग २ सय ३० प-याइएको छ भने २ सय ४० को सूर्यमुखी तेलको मूल्य २ सय ४८ रुपैयाँ पु-याइएको छ । यस्तै तोरीको तेलको मूल्य भने कार्टुनमा २० देखि ३० रुपैयाँसम्म बढाएर प्रतिकार्टुन (१० लिटर) को मूल्य ३४ सय १० रुपैयाँसम्म पु-याइएको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ बढेकाले स्थानीय बजारमा मूल्य बढेको नेपाल वनस्पति घिउ तेल उत्पादक संघले जानकारी दिएको छ । आन्तरिक उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले विदेशबाट कच्चा पदार्थ आयात गर्ने गर्छन् । गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ बढेकाले स्थानीय बजारमा तेलको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । त्यसको असर उपभोक्तालाई परेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले व्यवसायीले तेलमा अस्वाभाविक मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको बताए । बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीले मनपरि ढंगले तेलको मूल्य बढाएको उनको भनाइ छ । बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने अनुगमन गरिरहेको बताएको छ ।



सम्बन्धित
Loading...