ठक्करबाट पूर्वप्रहरी निरीक्षकको मृत्यु, रौतहटमा मोटरसाइकल चालकको मृत्यु




धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देलको मृत्यु भएको छ ।

 

राजमार्गको नलाङ बैरेनी खण्डमा मोटरसाइकलको ठक्करबाट मर्निङवाकमा रहेका सिद्धलेक-१ का सिक्देलको घटनास्थलमै मृत्यु भएको हो ।

 




सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

 

मगर दुर्घटनासँगै आफूले चलाएको बा.अ.३४ प ५०५२ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए ।

रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी ट्रयाक्टरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले उनको खोजी भईरहेको इलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ ।

 



सम्बन्धित
Loading...