एमसीसी विरुद्ध पोखरा, तनहुँ र गोरखामा प्रदर्शन
पोखरा । सरकारले संसदबाट पास गर्न खोजेको एमसीसी खारेजीको माग गर्दै शुक्रबार पोखरा, तनहुँ र गोरखामा प्रदर्शन गरिएको छ ।
पोखराः पोखरामा शुक्रबार भएको प्रदर्शनमा ८ दलको सहभागिता रहेको थियो ।
पोखराको पृथ्वीचोकदेखि सृजना चोकसम्म र्याली समेत भएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (मसाल) समन्वय समिति, राष्ट्रिय जनमोर्चा समन्वय समिति, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको उपस्थितमा पोखरामा र्याली र कोण सभा भएको हो ।
र्याली पछि आयोजित कोण सभामा नेकपा क्रान्तिकारी माओवादी गण्डकी प्रदेशका सेक्रेटरी केशबहादुर परियार, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अटल, ऋणि कट्टेल नेतृतवको नेकपाका मनिष भट्टराई र राष्ट्रिय जनमोर्चा समन्वय समितिका विक्रम थापाले बोलेका थिए ।
कोण सभामा बोल्ने वक्ताहरुले एमसीसी कुनै पनि हालतमा नेपालको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नु पर्नेमा जोड दिएका थिए ।





तनहुँः त्यसैगरी तनहुँमा पनि शुक्रबार एमसीसी खारेजीको माग राख्दै प्रदर्शन गरिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल समन्वय समिति, राष्ट्रिय जनमोर्चा समन्वय समिति लगायतको सहभागितामा र्याली र कोण सभा भएको हो ।
तनहुँको दुलेगौंडामा ८ दलिय बिरोध सभा भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र रानाभाटले बताए ।
र्याली पछि आयोजित कोण सभामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नं प्रदेश अध्यक्ष नेत्र रानाभाट, वज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका तिर्थराज मझकोटी, नेकपा विप्लवका गणेश, नेकपा मसाल समन्वय समितिका श्रीकुमार श्रेष्ठले सम्वोधन गरेका थिए ।

बिरोध सभा राजमो समन्वय समितिका नर बहादुर थापाको अध्यक्षतामा र नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी नारायण लम्सालको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले सम्पूर्ण देशभक्त तथा राष्ट्रवादी नेपालीहरुलाई पार्टीको बिचार र लाइनभन्दा माथि उठेर राष्ट्रघाती एमसीसीको बिरुद्धमा एकजुट भएर राष्ट्रिय स्वाधिनताका पक्षमा सदैव लड्न आह्वान गरेका थिए ।
गोरखाः यता शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गोरखा जिल्लाको सदरमुकाममा हरमटारी चोक सहिद गेटदेखि नारा जुलुस सहित बजार परिक्रमा गरि बसपार्कमा पुगेर कोणसभा भएको छ ।
कोणसभालाई प्रमुख वक्ताको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का गण्डकी प्रदेश सदस्य एवं गोरखा जिल्ला सेक्रेटरी कृष्ण कट्टेलले मन्तव्य राखेका थिए ।
उनले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकोले यो सम्झौता कुनै पनि हालतमा खारेज गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सन्चालन नेकपाका जिल्ला सदस्य एवं विद्यार्थी नेता गगन परियारले गरेका थिए भने नेकपाका जिल्ला सदस्य नवराज ढकाल, चिन बहादुर गुरुङ र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला सदस्य एवं युवा विद्यार्थी अमृत रानाले समेत मन्तव्य राखेका थिए ।

