आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाँईदै, ५१३ बन्दीलाई आममाफी


आज ७२औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाईँदै छ।



विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।




प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

प्रजातन्त्रले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रले जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताएकी छन् ।

आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी हुन् ।

‘हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ ।

हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ,’ राष्ट्रपतिले भनेकी छन् ।



सम्बन्धित
Loading...